२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

भारतीय अभिनेता श्रीनिवास फिल्म सुटिङ गर्न नेपालमा,भन्छन्-‘नेपालझैँ नेपाली सुन्दर छन्’

२४ चैत्र, काठमाण्डौँ ।  भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवासले नेपाल र नेपाली निकै सुन्दर रहेको बताएका छन्। दक्षिण भारतीय चलचित्र ‘टाइसन नाइडु’को छायाङ्कनका लागि नेपाल आएका अभिनेता श्रीनिवासले चन्द्रागिरीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालीको माया र सत्कारको प्रशंसा गर्दै धन्यवाद दिए।

उनले भने, ‘म नेपाल आउन चाहेर पनि आउन सकेको थिइनँ। कामकै सिलसिलामा यो मेरो पहिलो भ्रमण भए पनि यहाँ पाएको माया र सत्कार अद्भूत छ। यो चलचित्रको कथा नेपालसँग जोडिएकाले हामीले यही आएर छायाङ्कन गर्ने निर्णय गरेका थियौँ। यो चलचित्रले नेपाली कलाकारलाई दक्षिण भारतीय चलचित्रसँग जोड्ने छ।’

चलचित्र द्वन्द्वप्रधान रहेको जानकारी दिँदै आफूलाई नेपाली खाना र परिकार मन परेको उनले जानकारी दिए। नेपालमा पोखरापछि काठमाडौँमा छायाङ्कन गरिएको जानकारी दिँदै उनले पशुपतिनाथको दर्शन गरेर मात्र स्वदेश फर्किने बताए। ‘मलाई यहाँको हिमाल हेर्न मन छ, सगरमाथा पुग्न मन छ तर अहिले सम्भव छैन। यहाँका खानाले समेत मलाई मोहित बनाएको छ,’ उनले भने।

सन् २०१४ मा ‘अल्लुडु सीनु’ नामक तेलुगु चलचित्रमार्फत अभिनय यात्रा सुरु गरेका उनले हालसम्म अभिनय गरेका १० चलचित्र प्रदर्शन भइसकेका छन्। हाल ‘टाइसन नाइडु’सहित तीन चलचित्र छायाङ्कनरत छन्। उक्त चलचित्रमा नेपाल प्रहरीको भूमिकामा रहेका अभिनेता किरण श्रेष्ठले नयाँ अनुभव भइरहेको बताए।

‘मैले यसअगाडि पनि उत्तर भारतीय शृङ्खलामा काम गरेको थिएँ। अहिले दक्षिण भारतीय चलचित्रमा काम गर्न पाउँदाको अनुभव छुट्टै छ, ठूलो बजेट भएकाले पनि उहाँहरूले भव्यता खिच्नु हुन्छ र योजनाअनुसार नै चल्नु हुन्छ। अन्य काम भने हाम्रो नेपाली चलचित्रजस्तै छ,’ अभिनेता श्रेष्ठले भने।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस