२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

शिक्षामन्त्रीको राजीनामाबारे पहिलोपटक बोले प्रधानमन्त्री ओली, के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा आफ्ना कारण भएको भन्दै आएको समाचारप्रति आपत्ति जनाएका छन्।

नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजीनामा स्वास्थ्य कारणले भएको र आफूमाथि आएको आरोपहरू गलत भएको दाबी गरे।

‘एक जना मन्त्रीले राजीनामा दिएको कुरामा धेरै हल्ला भएको छ। प्रधानमन्त्रीले बस्न दिएनन् भन्ने हल्ला छ रे,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले बनाएको मन्त्री, मैले सहयोग गरिरहेको छु, सिकाइरहेको छु।’

शिक्षामन्त्री भट्टराईले केही समयअघि मात्र शल्यक्रिया (अपरेसन) गरेकाले मन्त्रालयको जिम्मेवारी बहन गर्न कठिन भएको उनले बताए। ‘धेरै ठूलो मन्त्रालय होइन, सजिलो पनि होइन,’ उनले भने, ‘स्वास्थ्यका कारण उहाँले राजीनामा दिनुभएको हो।’

प्रधानमन्त्री ओलीले भट्टराईको राजीनामा आफूले असहयोग गरेकाले आएको भन्ने समाचारलाई असत्य र योजनाबद्ध भनी खण्डन गरे। ‘सबैजना हेडलाइनमा लेख्न टेलिफोन संवाद गरेरै सल्लाह गरेर लेखेकोजस्तो लाग्छ,’ उनले गुनासो गरे।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस