सुनसरी जिल्लाको गढी गाउँपालिका–३ स्थित डिहवार टोल, छिटाहा क्षेत्रमा सुकुम्वासी तथा आर्थिक रूपले विपन्न समुदायका लागि २१ वटा सुरक्षित आवास निर्माणको कार्य सुरु गरिएको छ। समुदायमा आधारित पुनर्स्थापना–नेपाल (सङ्कल्प नेपाल) ले ह्याविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल र गढी गाउँपालिका सँगको सहकार्यमा सुरक्षित आवास परियोजना अन्तर्गत उक्त निर्माण कार्य अघि बढाएको हो।
आवास निर्माण कार्यको सिल्यानास एक विशेष समारोहका बिच सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी पूर्व मन्त्री भगवती चौधरीले सुरक्षित आवासका माध्यमबाट कमजोर वर्गको जीवनस्तरमा ठुलो सुधार आउने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “वास्तविक रूपमा सहयोग चाहिने समुदायसम्म यस्ता परियोजना पुग्नु सकारात्मक सङ्केत हो।”

सङ्कल्प नेपालका अध्यक्ष लखन लाल साहले परियोजनाबारे जानकारी दिँदै भने, “हामीले यो परियोजना सुकुम्वासी तथा गरिब परिवारलाई सुरक्षित, दिगो र सम्मानजनक बास उपलब्ध गराउने लक्ष्यसहित सुरु गरेका हौँ।” परियोजनाको पहिलो चरणमा २१ घर निर्माण गरिने र आगामी दिनमा थप समुदायलाई समेट्ने योजना रहेको बताइएको छ।
सङ्कल्प नेपालका अध्यक्ष लखन लाल साहका अनुसार, यसअघि गढी २ मा ४५ वटा, बर्जु ५ मा ३० वटा र हरिनगर गाउँपालिकामा १५ वटा सुरक्षित आवास निर्माण गरिसकिएको छ। अब निर्माण हुन लागेका आवासहरू गढी ३ मा २१, हरिनगर ४ मा १३ र हरिनगर २ मा २४ घर रहेका छन्।

अध्यक्ष साहले भने, “यो अभियान केवल घर निर्माणको नभएर सामाजिक पुनर्स्थापना, सुरक्षा र सम्मानसहितको जीवनको सुनिश्चिततासँग सम्बन्धित छ।”
स्थानीय बासिन्दा र लाभग्राहीहरूले यस्तो सहयोगले आफूहरूका लागि नयाँ जीवनको ढोका खुलेको महसुस गरिरहेको बताएका छन्।

