२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

इरानको हवाई हमलापछि कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो – सतर्क रहनू

दोहा । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन भन्दै सूचना जारी गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा सोमबार हवाई हमला गरेपछि उत्पन्न परिस्थितिका बीच आफ्ना नागरिकलाई सतर्क रहन भन्दै नेपाली दूतावासले सूचना जारी गरेको हो ।

जारी सूचनामा ‘शान्तिपूर्ण रहन र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न अनुरोध’ गरिएको छ । ‘नेपाली राजदूतावास, दोहा कतारमा रहनु भएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुका सदैव साथमा रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौं’, सूचनामा भनिएको छ ।

जारी इजरायल र इरान द्वन्द्वबीच अमेरिकाले शनिबार इरानतर्फ आक्रमण तेज पारेपछि इरानले जवाफी हमला गरेको अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा परिषद्को आपतकालीन बैठक डाकेका छन् ।

इरान इजरायल तनाव बिस्तार हुँदै कतार लगायत देशमा आउँदा पश्चिम एसिया क्षेत्रमा उत्पन्न संकटले नेपाली लगायत विभिन्न क्षेत्रबाट गएका मजदुरसमेत प्रभावित हुन सक्छन् । कतारले केही समयअघि आफ्ना नागरिक र पर्यटकहरूको सुरक्षाका लागि भन्दै हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको थियो । त्यसपछि दोहामा रहेको अमेरिकी एयरवेस खतरामा रहेको सूचना सार्वजनिक भएको थियो ।

दोहामा रहेको अमेरिकी सैन्य वेसलाई लक्षित गरेर हवाई आक्रमण भएपछि इरानले ‘सार्वभौमिकता, हवाई क्षेत्र र संयुक्त राष्ट्रसंघको सन्धिको खुला उल्लंघन’ गरेको कतारले प्रतिक्रिया दिएको छ । कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले अल उदैद वायुसैनिक अड्डामा इरानको रिभोल्युशनरी गार्डद्वारा गरिएको आक्रमणको निन्दा गर्दै यस्तो बताएका हुन् ।

उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कतार राज्यले अन्तर्राष्ट्रिय कानुनअनुसार यस स्पष्ट आक्रामकतामा प्रत्यक्ष रूपमा प्रतिक्रिया जनाउने अधिकार सुरक्षित राख्दछ ।’

इरानको सरकारी सिमाचार एजेन्सी तसनीमले इरानको रिभोल्युशनरी गार्डले इराकस्थित अमेरिकी सैन्य अड्डामा पनि मिसाइल प्रहार गरिएको दाबी गरेको छ । यसअघि अमेरिकाले इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा आक्रमण गरेको थियो ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस