काठमाडौं । पछिल्लो समय कमेडी उत्पादनका नायकको रुपमा चिनिएका निर्देशक, प्रस्तोता विशाल भण्डारीलाई आफ्नै साझेदारले आर्थिक चेपुवामा पारेको प्रकरण बाहिर आएको छ । गैर आवसीय नेपालीको खोल ओढेर नेपालमा कमेडी सिध्याउन चाहेका हरि भट्टराईले उनै भण्डारीलाई साइजमा ल्याउन भन्दै अनेक दुःख दिएका छन् । उनले प्रहरीका केही तत्कालिन अधिकारीसँगको स्वार्थसहितको चिनजानलाई दुरुपयोग गरेका छन् ।
मलेसियामा बस्दै आएका हरि अचानक विशालसँग व्यवसायीक साझेदारका रुपमा आए र नेपाली कमेडीको दुनियाँमा विशाल साम्राज्य बन्दै आएका ‘कमेडी नाइट वीथ च्याम्पिएन्स’, ‘कमेडी च्याम्पियन’ जस्ता रियालिटी शोलाई फेदैदेखि ढाल्न सुरु गरे । कम्पनीमा साझेदारको रुपमा भित्रिएका भट्टराईले आर्थिक शोषण र मानसिक यातना दिएको अरोप विशालको छ ।
‘तपाईंले वर्ष दिन टर्चर दिँदा म नेपाल नै बसेँ । समस्याको सामना गरेँ । कानूनी लडाइँ सुरु गरेँ । म भागिरहँदा तपाईंले लखेटको लखेट्यै गर्नुभयो । एकपटक फर्केर पलटवार गरेको, तपाईं त मलेसिया कुदिसक्नुभएछ’ विशालले सामाजिक सञ्जालमा नै लेखेका थिए ।
अदालती कागजात हेर्दा हरिले आफूसमेत साझेदार रहेको कम्पनीको खाताको चेकलाई लिएर चेक अनादरमा मुद्दा चलाएका छन् । विशालका अनुसार साझेदारीमा गरिएको कबुल हरिले पालना नगरेर ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) को कसूर गरेर उल्टै अदालत र प्रहरीमा पुगेका छन् । एक्सटर्सनको मुद्दा विशाललेपनि अदालतमा दर्ता गराइसकेका छन् ।

हरिले चेक अनादरको मुद्दा देखाएर तर्साउँदै विशालबाट २ करोड ४० लाख असुली गरेका छन् । चेक अनादरको जाहेरी लिएर प्रहरी समक्ष पुगेका हरिले विशाललाई जसरीपनि थुनाउन खोजेका थिए । शसस्त्र प्रहरीका एक एआईजीका आफन्त रहेका भट्टराईले काठमाडौं प्रहरी परिसरका एक एसएसपी र डिएसपी निर्मल पनेरुलाई नराम्ररी शक्तिको दुरुपयोग गराए ।
विशाललाई चेक अनादरमा नै परिसरले सोधपुछ भन्दै नियन्त्रणमा समेत लिएको थियो । विशालले आफ्ना कुरा प्रहरीसँग राख्न खोज्दा उनै डिएसपीले उल्टै विशाललाई गाली गलौज गरेको उनको टीमका एक सदस्यले बताए । आफ्ना कुरा राख्न खोज्दा प्रहरीले गालीगलौज र धम्की दिएपछि विशालले २ करोड ४० लाख जम्मा गराएर घर गएका थिए । त्यसपछिपनि प्रहरीले थुन्न कसरत गरेको थियो । तर विशालले चेक अनादर भनिए बमोजिमको रकम जम्मा गरेको भौचर सरकारी वकिललाई बुझाए । सरकारी वकिलले रकम जम्मा भइसकेको देखिएपछि थुनामा राख्न पाइदैन भनेपछि विशाललाई हैरानी दिनबाट प्रहरीपछि हटेको थियो । निजी स्वार्थको सम्बन्धका कारण डिएसपी पनेरुले विशालमाथि दुव्र्यबहार गरेको प्रहरी स्रोतले बतायो ।
हरिले कम्पनीसँग गरेको सम्झौता, प्रहरी परिसरमा दिएको जाहेरी र पछि गरेको कागजमा नै गम्भीर कानूनी त्रुटी छ । हरि स्वयं विशालसँगको साझेदारीको कम्पनीको ३० प्रतिशत सेयर होल्डर हुन् । हरि र विशालले संयुक्त दस्तखत गरेको चेकलाई हरिले नै दिएको जाहेरी लिएर प्रहरीले चेक अनादरको अनुशन्धान अघि बढाएको छ । जुन गैरकानूनी छ । यति मात्र हैन हरिले आफूले गरेको लगानीको प्रतिफल २४ महिनासम्म नखोज्ने कम्पनीसँग कबुल गरेका थिए । तर ११ महिनादेखि नै लगानी फिर्ता दिन धाक, धम्की र अनावश्यक हैरानी दिएका थिए । प्रहरी शक्तिको दुरुपयोग गरेर व्यवसाय सञ्चालनमा समेत अवरोध गरेका थिए । जुन करार ऐन २०५६ विपरित छ । उनले आफ्नो लगानी र ११ महिनामा नै मुनाफा भनेर ९० लाख दाबी गरेका छन् । लगानी र मुनाफा सहित २ करोड ४० लाख माग गरेका छन् । यो रकम आइसकेपछिपनि सहमति अनुसार चेक बदर नगरी सोही चेकलाई लिएर प्रहरीलाई पक्षमा पारेर सरकारी वकिल हुँदै हरिले अदालतमा मुद्दा पुर्याएका छन् ।
यो मुद्दा प्रथम दृष्टिमा नै अदालतसम्म अभियोजन गर्न समेत योग्य थिएन । तर हरिले सरकारी वकिल कार्यालयलाई समेत दवावमा पारेर अदालतमा अभियोजन गर्न लगाए । यसका लागि सरकारी वकिल कार्यालको नेतृत्वलाई फायल अध्ययनको समय समेत नदिन मुद्दा दर्ता गर्नुपर्ने कानूनी समय सिमाको अन्तिम दुई दिन बाँकी हुँदा मात्र प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइएको थियो ।
जब की हरिले मात्र १ करोड ५० लाख मात्र लगानी गरेका थिए । लगानी ग्यारेण्टीका लागि भन्दै ५० लाखका दुई वटा, ३० लाखका तीन वटा र २५ लाखको एउटा गरेर २ करोड १५ लाखका चेक लिएका थिए । सोही चेकलाई देखाएर २ करोड ४० लाख विशालबाट लिइसकेका छन् । अझै उक्त चेकको मुद्दा अदालतमा पुर्याएका छन् ।

स्रोतका अनुसार मलेसिया बसेर मिटर ब्याजीको रुपमा सक्रिय भट्टराईले कानून र शक्ति हातमा लिएर विशालबाटपनि मिटर ब्याजकै स्वरुपमा असुली गर्न खोजेका छन् । कम्पनीमा उनको ३० प्रतिशत मात्र सेयर छ । तर जाहेरीमा ६० प्रतिशतको दाबी गरेका छन् । गैरकानूनी र दाबी नपुग्ने जाहेरीमा अनुशन्धानको नाममा धम्की दिँदै यो असुलीमा डिएसपीले साथ दिएको देखिन्छ । प्रहरी कै रोहोबरमा २ करोड ४० लाख रकम जम्मा गरिसकेपछि विगतमा दस्तखत गरेका चेक फिर्ता गर्ने सहमति हरिसँग भएको थियो । प्रहरी निरीक्षक (इन्स्पेक्टर) कमल राउत र डिएसपी निर्मल पनेरुले २ करोड ४० लाख दिए हरिबाट विगतमा दस्तखत गरेका चेक फिर्ता गराउने ग्यारेण्टी गरेका थिए ।
तरपछि हरिलाई मलेसिया पठाएर सोही चेकसहितको प्रतिवेदन सरकारी वकिललाई दिँदै मुद्दा दर्ता गर्न सुझाउँदै अनुशन्धानमा खटिएका प्रहरीले नै विशाललाई गम्भीर धोका दिए । यही बयान विशालले इजलास समक्ष दिएका छन् । यो कुरा भन्न विशाल प्रधानमन्त्रीको कार्यालय समेत पुगे । तर मुद्दा प्रक्रियामा अघि बढि सकेका कारण कानूनी रुपमा नै प्रतिरक्षा गर्नुपर्ने बाध्यता विशालमा थियो । त्यहाँबाट आश्वासन पाउनु बाहेक केही थिएन । मुद्दा अहिले अदालतमा विचाराधिन छ । अहिलेपनि विवादलाई समाधान गर्न नखोजी उल्दै अब पैसा फिर्ता नगरी कम्पनी नै हरिलाई बुझाउँन उच्च तह र प्रहरीका उच्च अधिकारीबाट दवाव दिइरहेको स्रोत बताउँछ ।
पाउनुपर्ने पैसा पाइसकेकाले अनावश्यक कानूनी झमेला छोडेर कम्पनीबाट असार भित्र बाहिरिन विशालले हरिलाई आग्रह गरे । तिर्नुपर्ने कर तिरेर आफू अघि बढ्ने, जे भएपनि विगत भुल्न आग्रह गर्दापनि हरि मलेसिया भागेपछि आफू दर्शक स्रोताको साथ खोज्न सामाजिक सञ्जालमा जान बाध्य भएको विशाल बताउँछन् । यो घटनाको प्रकृती हेर्दा हरिले कम्पनीको ३० प्रतिशत सेयरलाई ग्यारेण्टीमा राखेर मिटर ब्याजमा लगानी गर्न रकम लिएको आशंका टिमको छ । उता मिटर ब्याजपनि खाने, यता अर्घेलो थापेर कम्पनीको मुनाफापनि लिइराख्न अनावश्यक झमेला गराएर बसेको कमेडी टिमको दाबी छ । उनको विगतपनि पैसा लगानी गरेर मिटर ब्याजमा असुली गर्ने देखिन्छ । घटना बाहिर आएपछि हरिले कमेडियनहरुलाई दिएको हैरानी देख्दा गैर आवसीय नेपालीहरुको गरिमा नै झुकेको एनआरएनका अग्रजहरु बताउँछन् ।
व्यक्तिगत गोपनियताको सुरक्षणका लागि अरु प्रमाणहरु सार्वजनिक नगरी जनबोली न्यूज नेटवर्कको आन्तरिक अर्काइभमा सुरक्षित गरिएको छ ।

