२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

यस्तो पनि! महिलालाई गर्भवती बनाए २५ लाख पाइने…

नयाँ दिल्ली। सामाजिक सञ्जालमा विभिन्न किसिमका विज्ञापनहरू देखिन्छन्, जसमा कतिपय ठगीका माध्यम बन्न पुग्छन्। भारतको महाराष्ट्र राज्यको पुणे सहरमा यस्तै एउटा अनौठो ठगी प्रकरण सार्वजनिक भएको छ।

पुणेका एक ठेकदारले सामाजिक सञ्जालमा आएको एउटा विज्ञापनमा महिलालाई गर्भवती बनाएबापत २५ लाख भारतीय रुपैयाँ दिने प्रस्ताव देखे। उक्त भिडियो विज्ञापनमा एक महिला भन्छिन्, “म यस्तो पुरुष चाहन्छु, जसले मलाई आमा बनाइदियोस्। त्यो पुरुष पढेलेखेको होस् वा अनपढ, गोरो वा कालो, जसको पनि जात होस्, केही फरक पर्दैन।”

भिडियो हेरेपछि ठेकदारले सोही नम्बरमा फोन गरे। फोन उठाउने व्यक्ति आफूलाई ‘प्रेग्नेन्ट जब फर्म’का सहायक भनेर चिनायो। त्यसपछि ठेकदारलाई विभिन्न प्रक्रियाको बहानामा रकम माग्न थालियो।

पहिले पहिचान पत्र बनाउनुपर्ने भन्दै केही रकम मागियो। पछि एकपछि अर्को प्रक्रिया भनेर ११ लाख भारु (करिब १७ लाख नेपाली रुपैयाँ) ठगिएको पीडित ठेकदारले बताएका छन्।

सेप्टेम्बरको पहिलो सातादेखि अक्टोबर २३ सम्मको अवधिमा पैसा बुझाएपछि पनि वाचा गरिएको “काम” नपाएपछि ठेकदार शंकित बने। जब उनले कम्पनीका व्यक्तिहरूलाई सम्पर्क गर्न खोजे, फोन नम्बर ‘ब्लक’ गरिएको पाइयो। त्यसपछि उनले प्रहरीमा ठगीको उजुरी दर्ता गरे।

प्रहरीले उजुरीको अनुसन्धान सुरु गरेको जनाएको छ। भारतमा पछिल्लो समय यस्ता सामाजिक सञ्जालमार्फत हुने साइबर ठगी घटनामा वृद्धि भएको प्रहरीले बताएको छ।

प्रहरीले भने पीडित ठेकदारको नाम र परिचय सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस