२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आँखा र रक्तदान गर्दै संघसंस्थाहरुले सम्झिए शहिदलाई

काठमाडौँ । शहिदहरुप्रति सम्झना र सम्मान व्यक्त गर्दै शहिद दिवसको अवसरमा आज काठमाडौंमा आँखा दान र रक्तदान गरिएको छ । तिलगंगा आँखा अस्पतालमा आँखा दानसहित रक्तदान गरिएको उक्त कार्यक्रमको लायन्स क्लब अफ काठमाडौं श्री माछापोखरी, लायन्स क्लब अफ काठमाडौं भिजन सर्कल र पर्वत कुश्मा समाज गरी तीनवटा संस्थाको संयुक्त आयोजना गरेका हुन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा एकसय ३५ जनाले रक्तदान र ३४ जनाले आँखा दान गरे भने आँखा दान गर्नेहरूले आफ्नो मृत्युपश्चात आफ्नो आँखा अस्पताललाई दान दिनेगरी तिलगंगा प्रतिष्ठानलाई सहमति दिए। आँखा र रक्तदानमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका ब्लड बैंक परशुराम दाहालको नेतृत्वमा सुजना पोखरेलसहित सात जनाको स्वास्थ्य प्राविधिक टोली खटिएको थियो ।

यस कार्यक्रममले मानव जिवनका निम्ति वरदान बन्नसक्ने हुँदा समाजलाई यसतर्फ प्रोत्साहन दिने उद्देश्य राखिएको आयोजकले विश्वास व्यक्त गरेको छ। लायन्स क्लब अफ काठमाडौं श्री माछापोखरीका अध्यक्ष सनतकुमार बस्नेत, सचिव जगदिश्वर थपलिया, भिजन सर्कलका अध्यक्ष प्रदिप कार्की र कुश्मा समाजका अध्यक्ष रामचन्द्र श्रेष्ठ लगायतले मुलुकको परिवर्तन र मुक्तिका लागि शहिदहरुले बगाएको रगत र बलिदानीको सम्मान तथा सम्झनास्वरुप गरिएको आँखादान र रक्तदानबाट नागरिक सेवामा सबैलाई समर्पित बन्न प्रेरणा दिनु आफुहरुको उदेश्य रहेको बताए ।

जिवित छँदा नै मृत्युपछि आँखादान दिने स्वघोषणाले समाजमा अन्धकारमा बाँचिरहेका दृष्टिबिहीनहरुले उज्यालो संसार पाउने हुँदा संस्थाले यस अभियानलाई तिव्रता दिएको तिलगंगा आँखा प्रतिष्ठानका मेन्टिनेन्स विज्ञ परशुराम बरालको दाबी छ ।

 

प्रकाशित मिति : २०८२ माघ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस