प्रकाश काफ्ले / काठमाडौं । धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर पूजा–अर्चना गरेका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि उनले जानकी माताको दर्शन गर्दै आशीर्वाद लिएका हुन्। मतपरिणाम सार्वजनिक भएपछि उनलाई आज बिहान नै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसपछि उनी जानकी मन्दिर पुगेर पूजा गरेका हुन्।
सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता समेत रहेका झाले धनुषा र जनकपुर क्षेत्रको समग्र विकासमा आफू केन्द्रित हुने बताए। उनले खानेपानी, सरसफाइ, वातावरण संरक्षण तथा भौतिक पूर्वाधार विकासमा योजनाबद्ध रूपमा काम अघि बढाइने जानकारी दिए।
उनले जनकपुरको सांस्कृतिक सम्पदालाई संरक्षण र प्रवर्द्धन गर्न सूचीकरण प्रक्रिया सुरु गर्ने योजना पनि सुनाए। साथै जनकपुर रेल्वे सेवा र जनकपुर विमानस्थललाई आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको उनले बताए।
राजनीतिमा परिस्थिति र चुनौतीहरू परिवर्तन हुँदै जाने भएकाले विकासका प्राथमिकताहरू पनि समयअनुसार बदलिँदै जाने उनले उल्लेख गरे। रास्वपाले सार्वजनिक गरेको प्रतिबद्धतापत्रका १०० बुँदाहरू धनुषामा पनि लागू हुने उनले बताए, तर त्यसबाहेक पनि स्थानीय आवश्यकताअनुसार थप कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए।
सरकार गठनपछि पार्टीको निर्णयअनुसार क्याबिनेटमा सहभागी हुने–नहुने विषय तय हुने उनले स्पष्ट पारे। उनले भने, “हाम्रो पार्टीमा सक्षम व्यक्तिहरूको अभाव छैन, त्यसैले योग्यता र क्षमताका आधारमा मन्त्री र मन्त्रालयको जिम्मेवारी बाँडफाँट हुनेछ।”
झाले रास्वपाको परिवर्तनको एजेन्डालाई स्वीकार गर्ने दलसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए। तर केवल संख्या जुटाउने उद्देश्यले गठबन्धन गर्ने पक्षमा पार्टी नरहेको उनले स्पष्ट पारे।
निर्वाचन परिणामअनुसार झाले ४३ हजार ९ सय ८८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १६ हजार ६ सय ५२ मत पाए भने नेकपा एमालेकी जुली महतो ९ हजार ७ सय ८६ मतसहित तेस्रो स्थानमा रहिन्।

