२०८२ चैत्र २८ गते शनिवार | 2026 April 11th Saturday

झापा–५ मा ओलीको करिब ५० हजार मतान्तरले पराजय, बालेन विजयी

प्रकाश काफ्ले / काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भारी मतान्तरले पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले उनलाई स्पष्ट अन्तरसहित हराएका हुन्।

अन्तिम मतपरिणाम अनुसार बालेन्द्र शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरे भने ओली १८ हजार ७३४ मत मा सीमित भए। यससँगै बालेनले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पछि पारे।

यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे। उनले ९ हजार २३३ मत प्राप्त गरे। त्यस्तै नेपाली कांग्रेसकी मंधरा चिमरिया १ हजार ८२१ मतसहित चौथो स्थानमा रहिन्।

झापा–५ बाट ओली विगतमा पटक–पटक निर्वाचित हुँदै आएका थिए। तर यसपटक भने पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका बालेन्द्र शाहले उनलाई पराजित गर्न सफल भए।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन प्रचारका क्रममा बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको थियो। यसअघि काठमाडौँ महानगरपालिकाको मेयर रहेका उनले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस