प्रकाश काफ्ले/काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बनाउन पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ। पार्टीले संसदीय निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो र सोही अभियानका साथ चुनावमा सहभागी भएको थियो। चुनावी परिणाममा रास्वपाले झन्डै दुई तिहाइ मत प्राप्त गरेको बताइएको छ।
रास्वपाकी सह–प्रवक्ता प्रतिभा रावलका अनुसार पार्टीले चुनावअघि नै बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइसकेको अवस्थामा संसदीय दलको नेतृत्व पनि उहाँलाई नै दिने गरी विधान परिमार्जन गर्नेबारे छलफल भइरहेको छ। हाल पार्टीको विधानको धारा ६६ मा संसदीय दलको नेता चयन गर्ने व्यवस्था उल्लेख गरिएको छ। उक्त धाराअनुसार संघीय निर्वाचनअघि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूमध्ये इच्छुक व्यक्तिहरूबीच निर्वाचनमार्फत संसदीय दलको नेता चयन हुने प्रावधान छ। त्यसैगरी, धारा ६६ (८) को उपधारा (ख) मा दलको नेता चयनका लागि हुने निर्वाचनमा पार्टीका सबै साधारण सदस्यलाई मतदाता बन्न पाउने व्यवस्था गरिएको छ। रास्वपा अहिले यही प्रावधानमा आवश्यक संशोधन गर्ने विषयमा तयारी गरिरहेको जनाएको छ।
रावलका अनुसार संशोधनको ठोस रूपरेखा अझै तय भइसकेको छैन। उनले भने, “हामीले विगतमा पनि यस्ता अभ्यास गरेका थियौं। अहिले चुनावअघि नै प्रधानमन्त्री उम्मेदवार तय गरिसकेको अवस्थामा प्रक्रियालाई सहज बनाउन के–कस्ता व्यवस्था गर्नुपर्छ भन्नेबारे पार्टीभित्र छलफल हुनेछ।”

