२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

एमाले संसदीय दलको नेता चयनप्रति उपमहासचिव योगेश भट्टराईको असहमति

प्रकाश काफ्ले / काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले को संसदीय दलको नेता चयन प्रक्रियाप्रति गम्भीर असहमति व्यक्त गरेका छन्। उपमहासचिव भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हालको राजनीतिक परिस्थिति र पार्टीभित्रको अवस्थालाई मध्यनजर गर्दा अपनाइएको प्रक्रिया उचित नभएको बताएका हुन्। उनले हालैको निर्वाचनपछि पार्टीले गम्भीर धक्का व्यहोरेको, नेतृत्वप्रति जनगुनासो बढिरहेको र समग्र आन्दोलनले विभिन्न चुनौतीहरूको सामना गरिरहेको अवस्थामा पार्टीलाई एकताबद्ध बनाउँदै जनविश्वास पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

भट्टराईका अनुसार यस्तो संवेदनशील समयमा संसदीय दलको नेता चयनका लागि केही समय लिएर पार्टी नेतृत्व र सांसदहरूबीच गहिरो छलफलमार्फत सहमति खोज्नुपर्ने थियो। तर त्यसो नगरी हतारमा र दबाबपूर्ण वातावरणमा निर्णय गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।

उनले यो प्रक्रियाले पार्टीपंक्तिमा थप चिन्ता र असन्तोष सिर्जना गरेको बताएका छन्। साथै, पार्टीभित्र संवाद, सहमति र एकताको आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै आगामी दिनमा नेतृत्वले यसतर्फ ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ चैत्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस