२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

गाउँभर फैलियो रहस्यमय रोग: तीन दिनमै कपाल गायब

रोग पत्ता लगाउन प्रभावित क्षेत्रबाट पानी र कपालको नमूना परीक्षण
Hair disappears

भारतको महाराष्ट्रस्थित बुलढाना जिल्लाका बोन्दगाउँ, कलवाद, र हिंगना गाउँका बासिन्दाहरू रहस्यमय रोगको चपेटामा परेका छन्। यस रोगका कारण मानिसको तीन दिनमै सबै कपाल झर्ने गरेको छ। गाउँलेहरूका अनुसार, रोग सुरु भएपछि पहिलो दिन टाउको चिलाउने, दोस्रो दिन कपाल सीधा हुने, र तेस्रो दिनमा सबै कपाल झर्ने क्रम सुरु हुन्छ। यो समस्याले महिलाहरूलाई पनि अछुतो राखेको छैन, जसले गर्दा गाउँभर त्रासको अवस्था छ।

समस्या गम्भीर बनेपछि जिल्ला स्वास्थ्य विभागले प्रभावित गाउँमा सर्वेक्षण गर्दै ३० जनामा कपाल झर्ने समस्या पुष्टि गरेको छ। रोगको कारण पत्ता लगाउन प्रभावित क्षेत्रबाट पानी र कपालको नमूना परीक्षणका लागि संकलन गरिएको छ। प्रारम्भिक अनुसन्धानमा केही चिकित्सकहरूले स्याम्पु उत्पादनलाई दोष दिएका थिए। तर, धेरै पीडितले स्याम्पु नै प्रयोग नगरेको बताएपछि रोगको कारण अझै रहस्यमय बनेको छ।

रोगले पारेको असर यति गहिरो छ कि धेरैजसो पीडितले आफ्नो सबै कपाल काट्न बाध्य भएका छन्। दाह्रीको कपालसमेत झर्ने समस्याले स्थिति झनै जटिल बनाएको छ। यसैबीच, जिल्ला परिषद्का स्वास्थ्य अधिकारीहरूले पानी दूषित हुन सक्ने सम्भावना औंल्याएका छन्। स्वास्थ्य विभाग र स्थानीय प्रशासनले रोगको समाधानका लागि सक्रियता देखाउँदै अनुसन्धान र उपचार प्रक्रिया अघि बढाइरहेका छन्।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस