२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

साउदीले अमेरिकामा ६०० अर्ब डलर लगानी गर्ने

साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकासँगको व्यापार र लगानी विस्तारका लागि आगामी चार वर्षमा ६०० अर्ब डलर लगानी गर्ने प्रस्ताव गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तामा बिन सलमानले ट्रम्प प्रशासनका अपेक्षित सुधारहरूले “अभूतपूर्व आर्थिक समृद्धि” ल्याउने बताएका छन्। यस वार्तामा बिन सलमानले आफ्ना पिता राजा सलमानको तर्फबाट ट्रम्पलाई पुन: कार्यभार सम्हालेकोमा बधाई समेत दिए।

यो लगानीको स्रोत वा खर्च गर्ने तरिकाबारे विस्तृत जानकारी दिइएको छैन। तर, बिन सलमानले यो लगानी थप अवसरहरू पाएमा अझ बढ्न सक्ने बताएका छन्।

पहिलो कार्यकालमा ट्रम्पले साउदी अरबसँग नजिकको सम्बन्ध कायम गरेका थिए। कार्यालय छाडेपछि साउदीले ट्रम्पका ज्वाइँ जारेड कुशनरको कम्पनीमा २ अर्ब डलर लगानी गरेको थियो।

पुन: राष्ट्रपति बनेपछि ट्रम्पले आफ्नो पहिलो विदेश भ्रमण साउदीलाई प्राथमिकता दिने संकेत गरेका छन्। उनले साउदी अरबले ५०० अर्ब डलर बराबरका अमेरिकी उत्पादन खरिद गर्न सहमत भएमा भ्रमण गर्ने बताएका छन्। २०१७ मा पनि ट्रम्पले ४५० अर्ब डलरको व्यापार सम्झौतासहित साउदी भ्रमण गरेका थिए।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस