दक्षिण सुडानको युनिटी राज्यमा विमान दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको छ। प्रदेशका सूचना तथा सञ्चार मन्त्री गत्वेच बिपालका अनुसार, विमान बुधबार राजधानी जुबाका लागि उडेको थियो र युनिटी राज्यको तेल क्षेत्र नजिक खसेको हो।
“विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भएको हो। विमानमा २१ जना सवार थिए, जस मध्ये एक जना मात्र जीवित बचेका छन्,” उनले बताए।
ग्रेटर पायनियर अपरेटिङ कम्पनी (जीपीओसी) द्वारा चार्टर्ड गरिएको र लाइट एयर सर्भिसेस एभियेशन कम्पनीद्वारा सञ्चालन गरिएको उक्त विमान नियमित उडानमा रहेको मन्त्रीले बताए।
मन्त्री गत्वेच बिपालले यस दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको र यसबारे छानबिन गरिने जानकारी दिएका छन्।
प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार

