भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा संगम स्नान गर्न जाँदै गरेका छत्तीसगढका १० जना भक्तजनको मृत्यु भएको छ। उत्तर प्रदेशको मिर्जापुर–प्रयागराज राजमार्गमा शुक्रबार राति २ बजेतिर भएको सडक दुर्घटनामा यी भक्तजनको मृत्यु भएको हो। दुर्घटनामा कुम्भ मेला दर्शन गरेर फर्किरहेका बसमा सवार १९ जना घाइते भएका छन्। मृतकहरू सबै छत्तीसगढको कोरबा र जांजगीर चम्पा जिल्लाका बासिन्दा थिए।
कोरबाबाट १० जना श्रद्धालु बोलेरोमा प्रयागराज जाँदै थिए। मनु का पुरा गाउँ नजिकै बोलेरो बससँग ठोक्किएको थियो, जसका कारण बोलेरोको अगाडिको भाग चकनाचुर भयो। बोलेरोमा सवार सबै १० जनाको घटनास्थलमै मृत्यु भएको हो।
घाइते १९ यात्रुलाई रामनगरको सरकारी अस्पतालमा भर्ना गरिएको छ। ती सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा थिए र वाराणसी जाने क्रममा थिए। राष्ट्रपति द्रौपदी मुर्माले यो दुर्घटनामा मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि शोक व्यक्त गर्दै घाइतेहरूको उपचारमा तदारुकता ल्याउन निर्देशन दिएका छन्।

