काठमाडौँ । रसुवाको केरुङबाट सामान ढुवानी गर्ने ट्रक चालक कुसाङ लामा ‘फुच्चे’ २५ करोड १ लाख ६० हजार रुपैयाँ बराबरका डलर र युरोसहित पक्राउ परे। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ निवासी लामाको ना. ७ ख १६५२ नम्बरको ट्रक टोखा झोर महांकालबाट नियन्त्रणमा लिइएको हो। ट्रकको ड्राइभर सिटमाथि फल्स बटन बनाएर रकम लुकाइएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।
करोडौँको रकम बोकेर हिँड्ने लामाले भने काठमाडौँमा घर बनाउन सकेनन्। उनी मासिक १२ हजार भाडा तिरेर गोकर्णमा डेरा लिएर बस्दै आएका थिए। प्रहरीले यसअघि पनि उनलाई २०७३ मा ७ किलो सुन तस्करी आरोपमा पक्राउ गरेको थियो। पाँच वर्ष जेल बसेर २०७८ मा छुटेपछि उनी फेरि तस्करीमा संलग्न रहेको खुलेको छ। ट्रकसहित पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ।
प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार

