२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

नक्कली फुटबल टोली बनाएर जापानमा मानव तस्करी, ४५ लाख असुल्ने गिरोह समातियो

काठमाडौं । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले नक्कली फुटबल टोली बनाएर मानव तस्करी गरेको आरोपमा २२ जनालाई पक्राउ गरेको छ।

जियो टिभीका अनुसार सियालकोटबाट जापान पुगेका ती व्यक्तिलाई जापानी अधिकारीहरूले नक्कली कागजात फेला पारेपछि फिर्ता पठाएका थिए। एफआईएको भनाइमा, उनीहरूलाई फुटबलरजस्तो देखिने तालिम दिइएको थियो तर उनीहरू वास्तविक खेल प्रदर्शन गर्न असमर्थ भए।

मुख्य आरोपी मलिक वकासले ‘गोल्डेन फुटबल ट्रायल’ नामक नक्कली क्लब दर्ता गरी प्रत्येक व्यक्तिबाट ४०–४५ लाख पाकिस्तानी रुपैयाँ असुलेका थिए। वकासले अघिल्ला वर्षहरूमा पनि यस्तै शैलीमा टोली बनाएर जापान पठाएको पाइएको छ।

एफआईएले वकासविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान थालेको छ। घटनाले पाकिस्तानमा बढ्दो मानव तस्करी र नक्कली कागजात प्रयोगबारे गम्भीर चिन्ता उब्जाएको बताइएको छ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस