२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

थप गम्भीर बन्यो पूर्वप्रधानमन्त्री खनाल पत्नीको अवस्था, उपचारका लागि एपोलो लैजाने

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि दिल्लीस्थित एपोलो अस्पताल लैजाने तयारी भएको पारिवारिक स्रोतले जनाएको छ। छोरा निर्भिकसहित भारत जाने तयारी भइरहेको पारिवारिक सदस्यले बताएका छन्।

आगजनीपछि उनको बायाँ हात काटिएको थियो। अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार अब चित्रकारको ज्यान भने खतरामा छैन। तर, निमोनिया निको हुन समय लाग्ने उनले जानकारी दिए।

डा. राईका अनुसार आगलागीका क्रममा उनको फोक्सोमा अत्यधिक धुवाँ प्रवेश गरेको थियो, जसले असर गरेको हो। ‘निमोनिया थियो। उहाँको फोक्सोमा धेरै ग्यास पुगेको थियो। हामीले मेसिनकै प्रयोग गरेर त्यो निकाल्यौं,’ उनले भने।

उनको स्वास्थ्यमा सुधार देखिएको भए पनि छिट्टै निको गराउन परिवारको सल्लाहअनुसार भारत लैजाने निर्णय गरिएको हो। डा. राईका अनुसार चित्रकारको शरीरमा १५ प्रतिशत जलन भएको छ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस