२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

७४ वर्षीय पूर्व सैनिकको हर्कतले गाउँभर हंगामा, सत्य खुल्दा सबै हैरान

काठमाडौं । बिहारको गया जिल्लामा एक अनौठो घटना घटेको छ। यहाँका ७४ वर्षीय पूर्व वायुसेना सैनिक मोहन लालले आफ्नै अन्त्येष्टि समारोह जीवितै आयोजना गरेपछि गाउँभरि सनसनी फैलिएको छ।

गुरारु ब्लकस्थित कोन्ची गाउँका मोहन लालले मृत्यु पश्चात् कसले कति शोक गर्छ र आफू कति माया पाउँछ भन्ने परीक्षणका लागि नक्कली अन्त्येष्टि आयोजना गरेका थिए। उनले आफ्ना केही नातेदार र गाउँलेहरूलाई सम्पूर्ण अन्त्येष्टि संस्कार पूरा गर्न आग्रह गरे। शवयात्रा निकालिँदा पृष्ठभूमिमा भावनात्मक गीतहरू बजाइएका थिए।

यो खबर फैलिँदै जाँदा सयौँ गाउँलेहरू जुलुसमा सहभागी भए। श्मशानघाटमा पुगेपछि मोहन लाल उठे र सबैलाई स्तब्ध बनाए। त्यसपछि उनले प्रतीकात्मक रूपमा पुत्ला दाहसंस्कार गरे र सामूहिक भोजको आयोजना गरे।

मोहन लालले भने, “म मृत्यु पछि मानिसहरूले मलाई कति सम्झन्छन्, कति सम्मान गर्छन् भन्ने कुरा म आफैंले हेर्न चाहन्थेँ।”

स्थानीयहरूले भने उनको यो अनौठो सोचसँगै उनको सामाजिक कार्यप्रति पनि प्रशंसा गरेका छन्। उनले केही समयअघि आफ्नै खर्चमा गाउँमा सुसज्जित शवदाह गृह निर्माण गरेका थिए, किनभने वर्षायाममा अन्त्येष्टि गर्न कठिनाइ हुने गरेको थियो।

मोहन लालकी श्रीमती जीवन ज्योतिको १४ वर्षअघि निधन भएको थियो। उनका दुई छोरा र एक छोरी छन्।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस