प्रकाश काफ्ले/काठमाडौँ ।मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच लेबननमा तैनाथ नेपाली शान्ति सैनिकको बटालियन मुख्यालय नजिक हवाई आक्रमण भएको खबर आएको छ। दक्षिण–पूर्वी लेबननको अल–जाबेल क्षेत्रमा रहेको ‘ब्लु लाइन’ नजिक संयुक्त राष्ट्रसंघअन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकको क्याम्प आसपास शुक्रबार उक्त घटना भएको बताइएको छ।
लेबननको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपाली शान्ति सैनिकको क्याम्प क्षेत्रमा विस्फोटक वस्तु खसेको जनाएका छन्। यद्यपि उक्त घटनामा कुनै मानवीय क्षति नभएको जानकारी दिइएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले पनि घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गर्दै यसबारे थप विवरण चाँडै सार्वजनिक गरिने बताएका छन्।
घटनाबारे इसराइली सेनाले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उक्त घटनाबाट सामान्य भौतिक क्षति मात्र भएको छ।
उनले बताए अनुसार अज्ञात स्रोतबाट आएको वस्तु नेपाली बटालियन मुख्यालयभित्र रहेको एक भवनमा लाग्दा केही क्षति पुगेको हो। यस घटनाबारे संयुक्त राष्ट्रसंघले थप अनुसन्धान गर्नेछ।
घटना हुँदा शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरू सुरक्षाका लागि बंकरभित्र रहेका कारण कुनै मानवीय क्षति नभएको जानकारी दिइएको छ।
उक्त भवनमा केही समय आगलागी भएको भए पनि पछि नियन्त्रणमा ल्याइएको सेनाले जनाएको छ।
हालै अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमा संयुक्त आक्रमण गर्दा त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित केही उच्च अधिकारी मारिएको समाचार आएको थियो। त्यसपछि इरान समर्थित समूह हिजबुल्लाहले लेबननबाट इसराइलमाथि आक्रमण गरिरहेको छ।
यसको प्रत्युत्तरस्वरूप अमेरिका र इसराइलले पछिल्ला दिनहरूमा लेबननमा आफ्नो सैन्य कारबाही तीव्र पारेका छन्।

