२०८३ जेष्ठ ९ गते शनिवार | 2026 May 23rd Saturday

नयाँ कलाकारहरू देहव्यापारमा धकेलिने गरेको एक कलाकारको सनसनीपूर्ण खुलासाले तहल्का पिट्यो

प्रकाश काफ्ले/काठमाडौँ ।भारतीय अभिनेत्री तनुश्री दत्ताले फिल्म उद्योगभित्र नयाँ कलाकारहरूले सामना गर्ने शोषण र दबाबबारे गम्भीर आरोप लगाएकी छन्। हालै दिएको एक अन्तर्वार्तामा उनले फिल्म क्षेत्रमा करिअर बनाउन आउने युवायुवतीहरूलाई सुरुमा ठूलो सपना देखाइने तर पछि उनीहरूलाई विभिन्न गलत गतिविधिमा फसाउने प्रयास हुने गरेको बताइन्। उनका अनुसार बाहिरबाट हेर्दा चमकधमक र सफलताको कथाले भरिएको जस्तो देखिने मनोरञ्जन उद्योगको वास्तविकता धेरै अवस्थामा निकै कठोर हुन्छ। नयाँ कलाकारहरूलाई “तिमी छिट्टै स्टार बन्छौ” वा “हिरोइन बन्ने ठूलो अवसर छ” भन्दै लोभ्याइन्छ, तर पछि उनीहरूलाई प्रभावशाली व्यक्तिहरूसँग भेटघाट गराएर उनीहरूको महत्वाकांक्षाको फाइदा उठाइने परिस्थिति सिर्जना गरिन्छ।

तनुश्रीले यस्तो दबाब र शोषणका कारण धेरै कलाकार मानसिक रूपमा कमजोर हुने र अन्ततः उद्योग छोडेर आफ्नै सहर फर्किनुपर्ने वा गलत बाटो रोज्न बाध्य हुने बताइन्। उनका अनुसार यस्ता घटनाहरू धेरैजसो सार्वजनिक हुँदैनन्, किनकि चर्चामा प्रायः सफल व्यक्तिहरूका कथा मात्र आउँछन्। उनले आफूले कलाकारको रूपमा आत्मसम्मानलाई सधैं प्राथमिकता दिएको र आफ्नो जीवन तथा सम्मानसँग कुनै सम्झौता नगर्ने अडान लिएको बताइन्। उनले सम्झौतालाई स्वीकार्य मान्ने एक अभिनेत्री साथीको व्यवहार अस्वीकार गर्दै मित्रता समेत अन्त्य गरेको स्मरण गरिन्।

उनले फिल्म क्षेत्रमा अवसर खोज्दै आउनेहरूलाई प्रलोभन र दबाबबाट सावधान रहन आग्रह गर्दै यस्ता विषयमा बोल्नुको उद्देश्य नयाँ कलाकारहरूलाई सम्भावित जोखिमबारे सचेत गराउनु भएको बताइन्।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस