प्रकाश काफ्ले/काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरी बेल्जियममा आयोजना हुन लागेको इयू टी-२० लिगमा जेबी ब्रुजेज टोलीबाट खेल्ने भएका छन्। उनलाई ड्राफ्टअघि नै टोलीले अनुबन्ध गरेको हो।जेबी ब्रुजेजले उनलाई तेस्रो विदेशी खेलाडीको रूपमा टोलीमा समावेश गरेको हो। यसअघि टोलीले कोलिन मुनरो र दक्षिण अफ्रिकाका रासी भान डेर डुसेनलाई पनि अनुबन्ध गरिसकेको छ।
यो टोली नेपाल प्रिमियर लिगको जनकपुर बोल्ट्ससँग सम्बन्धित लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको छ। इयू टी-२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो, जसलाई बेल्जियन क्रिकेट फेडरेसनले डेस्टिनो लिजेन्ड्स स्पोर्ट्ससँग सहकार्यमा आयोजना गर्दैछ। प्रतियोगिता आगामी जुन ६ देखि १४ तारिखसम्म सञ्चालन हुनेछ। पहिलो संस्करणमा करिब १० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितामा बेल्जियमका विभिन्न शहरहरूको प्रतिनिधित्व गर्ने ६ टोली सहभागी हुनेछन्।
लिग चरणमा सबै टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्। सहभागी टोलीहरूमा जेबी ब्रुजेजसहित आन्थ्रोप एङकर्स, ब्रसेल्स, हेन्ट, लुभेन र लिइज रेड लायन्स रहेका छन्। आन्थ्रोप टोलीको स्वामित्व जहीर खान ले लिएका छन्।
प्रत्येक टोलीमा १८ खेलाडी रहनेछन्, जसमा बेल्जियन, एसोसिएट राष्ट्रका खेलाडी, पूर्ण सदस्य राष्ट्रका सक्रिय खेलाडी र अनुभवी ‘भेट्रान’ खेलाडीहरू समावेश हुनेछन्। लिगका ग्लोबल ब्रान्ड एम्बेसडर इंग्ल्यान्डका पूर्व कप्तान इओइन मोर्गन रहेका छन्। साथै जेम्स भिन्स, अलेक्स हेल्स, एन्जेलो म्याथ्युज र वानिन्दु हसरंगा जस्ता अन्तर्राष्ट्रिय खेलाडीहरू पनि लिगमा सहभागी हुने अपेक्षा गरिएको छ।
खेलाडी छनोटका लागि ड्राफ्ट आगामी मार्च २४ मा ब्रसेल्समा हुनेछ। ड्राफ्टअघि नै केही खेलाडी अनुबन्ध गरिसकिएको छ भने नेपालका १५ भन्दा बढी खेलाडी ड्राफ्टका लागि दर्ता भएका छन्।

