२०८३ जेष्ठ १६ गते शनिवार | 2026 May 30th Saturday

सिल्यान्ड : संयुक्त राष्ट्रसंघबाट मान्यता नपाएको संसारको सानो देश

प्रकाश काफ्ले / काठमाडौं । हामीले सानैदेखि पढ्दै र सुन्दै आएको सानो देश भ्याटिकन सिटी हो भने आज भ्याटिकन सिटीभन्दा पनि सानो देश सिल्यान्डको बारेमा कुरा गरौं। सिल्यान्ड दुईवटा पिलरमा अडिएको छ र अहिलेसम्म यसलाई कुनै पनि देश वा संयुक्त राष्ट्रसंघले औपचारिक रूपमा मान्यता दिएको छैन। सील्याण्ड (Sealand) उत्तर समुद्रमा रहेको एक पुरानो समुद्री प्लेटफर्ममा अवस्थित अत्यन्तै सानो स्वयंघोषित राष्ट्र हो।

सिल्यान्डको इतिहास दोस्रो विश्वयुद्धसँग जोडिएको छ। युद्धको समयमा बेलायती सेनाले उत्तर समुद्रमा जर्मन आक्रमण रोक्नका लागि “रफ्स टावर”(Roughs Tower) नामक समुद्री प्लेटफर्म निर्माण गरेको थियो। युद्ध सकिएपछि यो प्लेटफर्म प्रयोगविहीन अवस्थामा छोडियो। सन् १९६७ मा पूर्व बेलायती सैनिक र रेडियो सञ्चालक प्याडी रोय बेट्स  ले उक्त प्लेटफर्म कब्जा गरेर यसलाई आफ्नो नियन्त्रणमा लिए। उनले बेलायतको समुद्री सीमाभन्दा बाहिर रहेको अवसरको फाइदा उठाउँदै यसलाई स्वतन्त्र क्षेत्र घोषणा गरे र आफूलाई राजकुमार  घोषणा गरे। यसरी सिल्यान्डको गठन भएको हो। सील्याण्डको कुल क्षेत्रफल करिब ५५० वर्ग मिटर (0.004 वर्ग किलोमिटर) मात्र रहेको छ, जुन एउटा फुटबल मैदानभन्दा पनि सानो हो, र यहाँ स्थायी बसोबास गर्ने जनसंख्या अत्यन्तै कम छ, प्रायः बेट्स परिवारमै सीमित छ। यसले आफ्नो शासन प्रणाली राजतन्त्रमा आधारित राखेको छ, जहाँ बेट्स परिवारका सदस्यहरूले राजकुमार र राजकुमारी  जस्ता उपाधि प्रयोग गर्छन्, र हाल माइकल बेट्स यसको नेतृत्व गरिरहेका छन्। यद्यपि कुनै पनि देश वा संयुक्त राष्ट्रसंघले सील्याण्डलाई औपचारिक मान्यता दिएको छैन, यसले आफ्नै संविधान, राष्ट्रिय झण्डा, मुद्रा (सिल्यान्ड डलर), स्टाम्प र पासपोर्ट जारी गर्दै आएको छ। इतिहासमा यसले विभिन्न चुनौतीहरू पनि सामना गरेको छ, जस्तै १९७८ मा भएको सशस्त्र आक्रमण, जसलाई बेट्स परिवारले नियन्त्रणमा लिएको थियो। आधुनिक युगमा सील्याण्डले इन्टरनेट र डिजिटल सेवाहरूमा आफ्नो उपस्थिति देखाएको छ, विशेष गरी डेटा होस्टिङ र अनलाइन स्वतन्त्रताको प्रतीकको रूपमा। क्षेत्रफल र जनसंख्या दुवै हिसाबले संसारको सबैभन्दा सानो माइक्रोनेसन भए तापनि, पूर्ण कानुनी मान्यता नपाए पनि स्वतन्त्र राष्ट्रको दाबी गर्दै आएको यसले विश्वभर चासो र बहस सिर्जना गरेको छ।

प्रकाशित मिति : २०८२ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस