२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगवती चौधरी निर्विरोध चयन

नियुक्तिसँगै संस्थाले वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्रामीण अर्थतन्त्र उकास्ने, सेवाग्राहीको विश्वास अझ मजबुत बनाउने तथा संस्थागत विकासलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा

इटहरी/सुनसरी। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३औँ वार्षिक साधारण सभाबाट संस्थाकी संस्थापक अध्यक्ष भगवती चौधरी पुनः अध्यक्ष पदमा निर्विरोध चयन भएकी छन्।

समाजसेवा, महिला सशक्तीकरण, वित्तीय समावेशीकरण तथा ग्रामीण विकासका क्षेत्रमा लामो अनुभव हासिल गरेकी चौधरीको पुनरागमनले संस्थालाई थप स्थायित्व, विश्वास र रणनीतिक नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको छ। नेपाल राष्ट्र बैंकका निर्देशक शैलेन्द्र रेग्मीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

लघुवित्त क्षेत्रको गहिरो अनुभव, संस्थाको स्थापना कालदेखि नै नेतृत्वदायी भूमिका तथा विपन्न समुदायसँगको प्रत्यक्ष सम्बन्धका कारण चौधरीको नेतृत्वले संस्थाको सेवा विस्तार, सुशासन, वित्तीय अनुशासन र दीर्घकालीन दिगोपनामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। विशेषगरी महिला उद्यमशीलता, ग्रामीण स्वरोजगार, वित्तीय साक्षरता र समुदायकेन्द्रित कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

ग्रामिण महिला उत्सुकता विकास मञ्चमार्फत चौधरीले वर्षौंदेखि ग्रामीण महिलाहरूमा सामाजिक चेतना, वातावरण संरक्षण, सरसफाइ र आत्मनिर्भरता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। सामाजिक विकास र वित्तीय पहुँचलाई एकसाथ जोड्ने उनको दृष्टिकोणले फरवार्ड माइक्रोफाइनान्सलाई केवल वित्तीय संस्था मात्र नभई सामाजिक रूपान्तरणको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।

गैरसरकारी संस्थालाई वित्तीय मध्यस्थकर्ताको रूपमा काम गर्ने बाटो खुलेपछि चौधरीकै अग्रसरतामा फरवार्ड माइक्रोफाइनान्स स्थापना भएको थियो। हाल संस्थाले देशका ४० जिल्लाका ३८२ स्थानीय तहमा रहेका २ लाख ८४ हजार ५७ विपन्न परिवारलाई आफ्ना १५९ शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

उनको पुनः नियुक्तिसँगै संस्थाले वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्रामीण अर्थतन्त्र उकास्ने, सेवाग्राहीको विश्वास अझ मजबुत बनाउने तथा संस्थागत विकासलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस