२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

परिवर्तन एक अभियानको सदस्यता अब अनलाइनबाटै लिन सकिने

Membership Management System मार्फत डिजिटल सदस्यता सेवा सञ्चालनमा ल्याइने

इटहरी, सुनसरी । सामाजिक रूपान्तरण, समावेशिता र नागरिक सहभागितालाई मूल उद्देश्य बनाएर क्रियाशील परिवर्तन एक अभियान, इटहरी–७, सुनसरी ले आफ्ना सदस्य तथा सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै अनलाइन Membership Management System सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। उक्त प्रणालीको प्राविधिक विकास कार्य सुलभ होस्ट प्रा.लि. ले गरिरहेको छ।

नयाँ डिजिटल प्रणालीमार्फत अब सुनसरी जिल्ला भित्र बसोबास गर्ने इच्छुक व्यक्तिहरूले घरमै बसेर सहज रूपमा संस्थाको सदस्यता आवेदन दिन, आफ्नो प्रोफाइल व्यवस्थापन गर्न, सदस्यता नवीकरण गर्न तथा डिजिटल सदस्यता कार्ड प्राप्त गर्न सक्नेछन्। यस प्रणालीमा साधारण सदस्य, आजीवन सदस्य, संस्थापक सदस्य, आमन्त्रित सदस्य तथा मानार्थ सदस्य लगायतका विभिन्न सदस्यता श्रेणी समावेश गरिएको छ।

प्रणालीमा सदस्यमैत्री तथा आधुनिक सुविधाहरू समावेश गरिएका छन्। जसअन्तर्गत नयाँ सदस्य दर्ता, सदस्यता अनुमोदन, व्यक्तिगत विवरण अद्यावधिक, पासवर्ड परिवर्तन, इमेल /फोन नं प्रमाणीकरण, डिजिटल सदस्यता कार्ड हेर्ने तथा प्रिन्ट गर्ने, QR कोडमार्फत सदस्यता प्रमाणीकरण, प्रोफाइल PDF डाउनलोड, सदस्यता नवीकरण, प्रशासनिक रिपोर्टिङ तथा रेकर्ड व्यवस्थापन, सपोर्ट टिकट जस्ता सेवाहरू उपलब्ध हुनेछन्।

यसका साथै कार्यसमिति व्यवस्थापन प्रणाली समेत समावेश गरिएको छ, जहाँ संस्थाका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको फोटो, सम्पर्क विवरण र जिम्मेवारी सार्वजनिक रूपमा व्यवस्थित रूपमा हेर्न सकिने व्यवस्था हुनेछ।

सदस्यहरूको गुनासा तथा समस्या समाधानलाई छिटो, व्यवस्थित र पारदर्शी बनाउन Support Ticket System समेत राखिएको छ। यस प्रणालीमार्फत सदस्यहरूले प्राविधिक समस्या, भुक्तानी, सदस्यता नवीकरण वा अन्य जिज्ञासा सम्बन्धी टिकट दर्ता गर्न सक्नेछन्। प्रशासनले सम्बन्धित विभाग वा जिम्मेवार पदाधिकारीलाई टिकट असाइन गरी समाधान प्रक्रिया अगाडि बढाउने व्यवस्था पनि गरिएको छ।

सुलभ होस्ट प्रा.लि.का कार्यकारी निर्देशक सुबास घिमिरेले भन्नुभयो,
“प्रविधिलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यका साथ परिवर्तन एक अभियानका लागि यो Management System विकास गरिरहेका छौं। हाम्रो लक्ष्य सदस्यता प्रक्रियालाई सरल, सुरक्षित, पारदर्शी र पूर्ण रूपमा डिजिटल बनाउनु हो। यस प्रणालीले संस्थाको प्रशासनिक कार्यलाई व्यवस्थित, छिटो र प्रभावकारी बनाउनेछ भने देश तथा विदेशमा रहेका इच्छुक सदस्यहरूलाई संस्थासँग सहज रूपमा जोड्नेछ।”

त्यसैगरी परिवर्तन एक अभियानका अध्यक्ष निश्चल घिमिरेले भन्नुभयो,
“समयको मागअनुसार संस्था पनि प्रविधिमैत्री बन्न आवश्यक छ। सदस्यहरूको सहजता, पारदर्शिता र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै हामीले यो डिजिटल प्रणाली ल्याएका हौं। अब सदस्यता लिन, नवीकरण गर्न वा संस्थासँग सम्पर्क राख्न भौतिक उपस्थितिको आवश्यकता कम हुनेछ। यसले संस्थालाई थप व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउने विश्वास गरेका छौं।”

संस्थाका अनुसार, यो प्रणाली सञ्चालनमा आएपछि डिजिटल नेपालको अवधारणालाई स्थानीय सामाजिक संस्थासम्म विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा यसलाई लिइएको छ। यसले समय, लागत र कागजी प्रक्रिया घटाउनुका साथै संस्थाको सेवा प्रवाहलाई थप गुणस्तरीय र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस