२०८३ असार १५ गते सोमवार | 2026 June 29th Monday

राष्ट्रिय धान दिवसको अवसरमा इटहरी ७ का तीन जना कृषक सम्मानित

इटहरी, असार १५। कृषिको महत्व, किसानको सम्मान तथा कृषि क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ परिवर्तन एक अभियान इटहरी ७ द्वारा आयोजना गरिएको “असार १५ तथा राष्ट्रिय धान दिवस विशेष कार्यक्रम–२०८३” सोमबार इटहरी उपमहानगरपालिका–७ स्थित सुमंगल टोलमा भव्य रूपमा सम्पन्न भएको छ।

बिहान ७:०० बजेदेखि सुरु भएको कार्यक्रममा करिब २५० जना स्थानीयवासी, महिला समूह, भजन–कीर्तन समूह, युवा, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमका प्रमुख अतिथि ब्राह्मण समाज इटहरीका अध्यक्ष पुण्यप्रसाद पराजुली रहनुभएको थियो भने विशिष्ट अतिथि इटहरी उपमहानगरपालिकाका अधिकृत महेस सुवेदी रहनुभएको थियो। त्यसैगरी इटहरी–७ का वडा सदस्यद्वय नेत्रप्रसाद गुरागाईं र दीपक घिमिरे, महिला वडा सदस्य राधा आचार्य, समाजसेवी जय नारायण चौधरी, विभिन्न महिला समूह, भजन–कीर्तन समूह तथा स्थानीय युवा–महिलाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा कृषि क्षेत्रमा योगदान पुर्‍याउँदै आएका विष्णु प्रसाद कोइराला, बेचनलाल चौधरी तथा सत्यनारायण चौधरीलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो। उपस्थित सबैले सम्मानित कृषकहरूको योगदानको प्रशंसा गर्दै कृषकको सम्मानले कृषि पेशाप्रति थप आकर्षण बढ्ने विश्वास व्यक्त गरेका थिए।यस अवसरमा समाजसेवी जय नारायण चौधरीले परिवर्तन एक अभियानलाई एक थान पोडियम (Podium) सौजन्य प्रदान गर्नुभएको थियो। संस्थाप्रति उहाँले देखाउनुभएको सहयोगको उच्च प्रशंसा गर्दै आयोजकले विशेष धन्यवाद सहित सम्मन गरेको थियो।

कार्यक्रममा इटहरी–७ का वडा सदस्य दीपक घिमिरे तथा परिवर्तन एक अभियानका अध्यक्ष निश्चल घिमिरेले छोटो मन्तव्य राख्दै कृषि, किसान र सामाजिक एकताको महत्वबारे प्रकाश पार्नुभएको थियो। उहाँहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै कृषि पेशाको सम्मान बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।कार्यक्रमको विशेष आकर्षणका रूपमा पवित्र खड्काको अध्यक्षतामा रहेको महिला समूहले नौमती बाजा बजाउँदै कार्यक्रमको शुभारम्भ गरिएको थियो। नौमती बाजाको सांगीतिक प्रस्तुति र उत्साहपूर्ण वातावरणले सम्पूर्ण कार्यक्रमलाई थप आकर्षक र उल्लासमय बनाएको थियो।

कार्यक्रममा सहभागीहरूले असार १५ अर्थात् राष्ट्रिय धान दिवसको मौलिकता झल्किने विभिन्न गतिविधिमा सहभागिता जनाउँदै कृषिको संरक्षण, किसानको सम्मान तथा सामुदायिक एकताको सन्देश प्रवाह गरेका थिए। कार्यक्रमको समापनमा आयोजक परिवर्तन एक अभियानका अध्यक्ष निश्चल घिमिरेले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, सहभागी, महिला समूह, स्थानीयवासी, समाजसेवी तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यकम सम्पन गर्नुभयो। साथै आगामी दिनमा पनि समाज रूपान्तरण, कृषि प्रवर्द्धन र सामाजिक सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

परिवर्तन एक अभियानले विगत केही वर्षदेखि इटहरी क्षेत्रमा वृक्षारोपण, रक्तदान, सरसफाइ अभियान, स्वास्थ्य सचेतना, शिक्षा सहयोग, विपन्न तथा असहायलाई राहत वितरण, राष्ट्रिय पर्व तथा विशेष दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रम, कृषक सम्मान लगायतका सामाजिक कार्यहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा जोडेर समाजमा सकारात्मक सोच र सेवाभावको विकास गर्ने उद्देश्यका साथ अभियानले सञ्चालन गरेका गतिविधिहरूले समुदायमा राम्रो प्रभाव पार्दै गएको स्थानीयवासीको भनाइ छ। विशेषगरी युवाहरूको सक्रिय सहभागितासहित सञ्चालन हुने यस्ता कार्यक्रमले सामाजिक एकता, नागरिक उत्तरदायित्व र सामुदायिक विकासमा उल्लेखनीय योगदान पुर्‍याइरहेको देखिन्छ।

राष्ट्रिय धान दिवसको अवसरमा सम्पन्न यस कार्यक्रमले पनि कृषिको महत्व, किसानको सम्मान तथा सामाजिक सहकार्यको सन्देश प्रवाह गर्दै परिवर्तन एक अभियानको सामाजिक प्रतिबद्धतालाई पुनः स्थापित गरेको सहभागीहरूले बताएका छन्।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस