२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ? : सभापति लामिछाने

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गर्नुभएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गर्नुभएको हो । भ्रष्टाचारको कुरालाई लिएर आफ्नो दलले पटकपटक कुरा उठाउँदै आएको दाबी समेत उहाँले गर्नुभयो ।

संसदमा बोल्दै उहाँले भन्नुभयो, ‘तीन राजनीतिक दलहरू खुसुर खुसुर बसेको कुरालाई लिएर आशङ्का व्यक्त गर्दै आइरहेका थियौँ । आज कुनै राजनीतिक दल बाँकी रहेको छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस् ।’

उहाँले अगाडि भन्नुभयो, ‘त्यतिमात्र होइन, राज्यका निकायहरूको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी, त्यसका प्रमुखहरूको नाम आइरहेको छ । यस्तो अवस्थामा यो कुनै अँध्यारो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन ।’

सभापति लामिछानेले दिउँसै, दिन दहाडै, दिनको उज्यालोमा, प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वाटरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएको यस्ता विषयहरू आइरहेकोतर्फ पनि संकेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ मुछिएका मान्छेहरू हेर्नुस् । यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ? त्यसकारणले विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ ।’

प्रकाशित मिति : २०८० जेष्ठ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस