२०८१ असार ४ गते सोमवार | 2024 June 17th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

७१ जिल्लामा लम्पी स्किन महामारी: मान्छेमा सर्छ कि सर्दैन ?

The Lumpy Skin Epidemic

गनी अन्सारी, बीबीसी न्यूज नेपाली । नेपालका गाईभैँसीमा देखिएको लम्पी स्किन रोगको महामारी अहिले तीव्र रूपमा फैलिरहेको सरकारी तथ्याङ्कले देखाएको छ। पशु सेवा विभागले उपलब्ध गराएको तथ्याङ्क हेर्दा गत एक महिनाकै अवधिमा सङ्क्रमित हुने गाईभैँसीको सङ्ख्या व्यापक रूपमा बढेको पाइएको छ।

विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले वैशाखको अन्तिम सातातिर सङ्क्रमित गाईभैँसीको सङ्ख्या १५,००० भएको बताएका थिए। उनका अनुसार अहिले त्यो सङ्ख्या पाँच लाखको हाराहारीमा पुगेको छ। पहिला यो रोगबाट ३५ जिल्लामा फैलिएको पुष्टि भएकोमा अहिले ७१ वटा जिल्लामा फैलिसकेको छ। “अहिले ५०० वटाभन्दा बढी स्थानीय तह प्रभावित भएको विवरण हामीलाई प्राप्त भएको छ,” ढकालले बीबीसी न्यूज नेपालीसँग भने।

नेपालमा लम्पी स्किन रोगको महामारी: मान्छेमा सर्छ कि सर्दैन
उनका अनुसार प्रभावित हुनेमा हिमाल, पहाड र तराई सबैतिरका जिल्ला रहेका छन्। “थोरै समयमा यति ठूलो क्षेत्रमा फैलिनु भनेको यो महामारी नै हो,” विभागका सूचना अधिकारी समेत रहेका ढकालले थपे। लम्पी स्किन रोगका कारण मर्नेमा प्रायः गोरु, भर्खरै जन्मेका बाच्छाबाच्छी, पाडापाडी, गर्भवती र हालै ब्याएका गाईभैँसी छन्। “झन्डै १०,००० गाईभैँसी मर्नु भनेको यसको ठूलै असर देखिनु हो,” नेपालमा परेको प्रभावबारे उनले भने।

किन चिन्ताको विषय हो?
सरकारी निकायका एक वरिष्ठ अधिकारीले लम्पी स्किन रोगले अहिले पारेको असरलाई कम ठान्न नहुने भन्दै सचेत गराए। “कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसलाई गम्भीर रूपमै लिनुपर्छ। यो त ठूलो चिन्ताको विषय हो,” राष्ट्रिय पशु विज्ञान अनुसन्धान परिषद्‌का निर्देशक डा. स्वयंप्रकाश श्रेष्ठले बीबीसी न्यूज नेपालीसँग भने।

लम्पी स्किन रोग
लम्पी स्किन रोगबाट हुने गाईभैँसीको मृत्युदर कम भए पनि त्यसले दूध उत्पादनमा पार्ने असर झन् चिन्ताजनक भएको श्रेष्ठ औँल्याउँछन्। “रोगप्रतिरोधी क्षमता कम भएका गाईभैँसी यसबाट मर्ने भए पनि ‘प्रोडक्शन लस’ चाहिँ सबैमा हुन्छ। उदाहरणका लागि, १० लिटर दूध दिनेको दुई लिटरमा झर्न पुग्छ,” श्रेष्ठले भने। विभागका वरिष्ठ पशु विकास चिकित्सक डा. ढकालले पनि समान जानकारी दिए। “मृत्युदरभन्दा पनि यसबाट उत्पादनमा आउने ह्रास महत्त्वपूर्ण हो।”

आर्थिक क्षति कति भयो?
लम्पी स्किन रोगले पारेको आर्थिक क्षतिबारे अध्ययन हुन बाँकी रहेको पशु सेवा विभागले जनाएको छ। “हामीले नेपाल कृषि अनुसन्धान परिषद्‌मार्फत्‌ क्षतिबारे अध्ययन नै गराउन लागेका छौँ। तर यसो हेर्दा यसबाट परेको क्षति करोडौँ रुपैयाँ हुनसक्ने देखिन्छ,” ढकालले भने। राष्ट्रिय पशु विज्ञान अनुसन्धान परिषद्‌का निर्देशक डा. श्रेष्ठ पनि लम्पी स्किन रोगले ठूलो क्षति पुर्‍याएकोमा दुईमत नभएको बताउँछन्। “मरेका एउटा गाई वा भैँसीको तपाईँले ५०,००० रुपैयाँ मात्र मूल्य राख्नुभयो भने करोडौँ रुपैयाँ हुन आउँछ,” श्रेष्ठले थपे। बीमा गरिएका गाईभैँसीको मृत्युपछि उल्लिखित रकम बीमा कम्पनीहरूले बेहोरेको हुनुपर्ने ढकालले बताए।

लम्पी स्किन कहाँकहाँ फैलिएको छ?
पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो। लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो। केही समयसम्म त्यो सब-सहारन अफ्रिकामा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो। राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखिएको थियो।

यो रोग आर्थिक वर्ष २०७७/०७८ मा नेपालका आठ जिल्लाका ११ वटा पालिकामा देखिएको थियो भने २०७८/०७९ मा नौ जिल्लाका १९ पालिकामा फैलिएको पाइयो। त्यसपछि २०७९/०८० मा खासै नदेखिए पनि अहिले आएर सातवटै प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको विभागले जनाएको छ। शुरूतिर तराई र मध्य पहाडका जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएकोमा अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि पुगिसकेको छ।

लम्पी स्किन कसरी सर्छ?
गाईभैँसीलाई हुने यो एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ। सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ। गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ। सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ। “खासगरी ज्वरो नियन्त्रण गर्न सकिएन त्यस्तो अवस्थामा सङ्क्रमित गाईबस्तु मर्ने गर्छन्।” यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन्। त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ।

मान्छेमा सर्छ कि सर्दैन?
पशु चिकित्सकहरूका अनुसार लम्पी स्किन ‘जूनोटिक डिजीज’ अर्थात् पशुबाट मान्छेमा सर्ने रोग होइन। एफएओले सन् २०१७ मा आफ्नो एउटा प्रतिवेदनमा लम्पी स्किन रोगले मानिसलाई असर गर्दैन भन्ने पुष्टि गरेको थियो। “यो रोग मान्छेमा सर्छ भन्ने कुरा कुनै पनि वैज्ञानिक अध्ययनले प्रमाणित गरेको छैन,” डा. ढकालले भने।

यसको उपचार के हो?
यो रोगको प्रभावकारी उपचार छैन। त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन्। “यो रोग लाग्न नदिन खोप लगाउँदै आइएको छ। तर रोग लाग्न नदिनका लागि भ्याक्सिनेशन हो। सङ्क्रमण भएको बेला खोप लगाउन हुँदैन,” ढकालले भने। भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग निको हुन्छ। “एक पटक यो रोग लागेपछि एन्टिबडी बनेका कारण दोहोर्‍याएर गाईभैँसीलाई फेरि लाग्दैन,” उनले थपे।

सङ्क्रमित गाईभैँसीको दूध खान हुन्छ?
हालसालै भारतका केही राज्यमा लम्पी स्किन रोग फैलिएका बेला सङ्क्रमित गाईभैँसीको दूध नखान भन्दै सामाजिक सञ्जालमा अभियान नै चलाइएको थियो। तर भारतकै पशु चिकित्सकहरूले त्यसमा कुनै सत्यता नभएको भन्दै खण्डन गरे। पशु सेवा विभागस्थित वरिष्ठ पशु विकास अधिकृत ढकालका अनुसार पनि त्यस्ता गाईभैँसीको दूध सेवन गर्नै नहुने भन्ने हुँदैन। “शरीरभरि घाउ नै घाउ भएको गाईभैँसीको दूध दुहेर खान मन नलाग्नु स्वाभाविक नै हो,” उनले भने। “तर सङ्क्रमित गाईभैँसीको दूध खानु हुँदैन भन्ने कुरा कुनै पनि अनुसन्धान अथवा वैज्ञानिक अध्ययनले भनेको छैन। मज्जाले उमालेर खान सकिन्छ।”

कसरी नियन्त्रण गर्न सकिन्छ?
राष्ट्रिय पशु विज्ञान अनुसन्धान परिषद्‌का निर्देशक डा. श्रेष्ठका अनुसार सुरुमै प्रभावकारी कदम चालिएको भए त्यसले अहिलेको रूप नहुन पनि सक्थ्यो। “सुरुतिरै सङ्क्रमित गाईभैँसीको ‘मुभमेन्ट’ रोक्न सकेको भए अहिले महामारीको रूप नलिएको पनि हुन सक्थ्यो,” उनले औँल्याए। नियन्त्रण तथा रोकथामका लागि राज्य दुईवटा कदम चाल्नुपर्ने श्रेष्ठको सुझाव छ। “एक त सङ्क्रमित गाईभैँसीलाई क्वारन्टीनमा राख्नुपर्छ, अर्को कुरा राज्य व्यापक रूपमा भ्याक्सिनेशन अभियान चलाउनुपर्छ,” उनले सुझाए। विभागका वरिष्ठ पशु विकास चिकित्सक ढकालका अनुसार नेपालका गाईभैँसीमा अहिले जोर्डनमा निर्मित खोपको प्रयोग भइरहेको छ। “कतिपय ठाउँमा स्थानीय सरकारको सहयोगमा खोप कार्यक्रम चलिरहेको छ भने कतिपय ठाउँमा किसान स्वयंले नै खोप किनेर गाईभैँसीमा लगाइरहनुभएको छ।”

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस