२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अदालतमा लक्ष्मीले बच्चालाई दूध चुसाइन्, टोपबहादुर र टेकनारायण रोए…

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रक‍रणमा शुक्रबार बहसको अन्तिम दिन थियो । न्यायाधीश प्रेमप्रसाद न्यौपाने बुधबार नै सरकारी र आरोपी पक्ष दुवैका तर्फबाट बहस सकेर बिहीबारसम्म आदेश दिने तयारीमा थिए । तर आरोपी पक्षका विषेश गरेर बालकृष्ण खाणका कानून व्यवसायीले लामो समय लिएपछि शुक्रबारसम्म कुर्नै पर्ने भयो ।

बिहीबारसम्मको बहसमा आरोपीका तर्फबाट कानून व्यवसायीहरुले प्रहरीको अनुसन्धान र सरकारी वकिलमाथि अनेक प्रश्न सोझ्याएका थिए । आफ्ना कानून व्यवसायीहरुले गरेको तर्कबाट केही राहत मिल्न सक्ने अपेक्षा थियो केहीमा विषेश गरेर बालकृष्ण खाण अलि बढी अपेक्षाकृत देखिन्थे । तर शुक्रबार त्यसो भएन ।

शरणार्थी प्रकरणमा बालकृष्ण खाणसहित १६ जनालाई कारागार चलान गर्ने अदालतले आदेश दियो । संगठित अपराधमा घिमिरेले दिएको तर्क सुनेपछि अधिकांश आरोपीहरुको अनुहार मलीन देखियो । विषेश गरेर सधैं गफिएर बस्ने बालकृष्ण खाण, टोपबहादुर रायमाझी भावुक मुद्रामा देखिए ।

शुक्रबार दिउँसो २ बजेसम्मको समय पाए पनि करिब साढे १२ बजे नै सबै सरकारी वकिलले आफ्नो बहस सके । सबैको प्रतिक्षा आदेशको थियो । बालकृष्ण खाण चन्दनको टीका लगाएर आएका थिए । सधैं जसो आफन्तहरुले ल्याइदिएको खाजा खान निस्किए । कोही मुखा मुख गर्दै थिए ।

खाण, टोपबहादुर रायमाझी, इन्द्रजित राई निकै निरास मुद्रामा देखिन्थे । अधिकांश समय मस्त देखिने नक्कली शरणार्थी बनाउने माष्टर माइण्ड मध्येका एक सानु भण्डारीमा कुनै तनाव देखिँदैन थियो । उनी सधैं उस्तै देखिन्थे । उनले सचिव पाण्डेलाई मुखमा चपाउने केही कुरा ल्याएर दिए । उनी बेला बेलामा केही खाने कुरा ल्याएर अन्य आरोपीलाई दिइरहन्थे ।

इजलासमा खाण, सचिव पाण्डे प्रायः एकै लहरमा बस्थे । शुक्रबार पनि सँगै बसे। टोपबहादुर रायमाझी र इन्द्रजित राई सँगैको अर्को बेन्चमा । पछाडि टोपबहादुरका छोरा सन्दीप सहितका अन्यको एउटै लहर थियो । टेकनाथ रिजाल बेला–बेलामा रामशरण केसी (रिजालकै घरमा रंग लगाउन जाने) बाहेक कसैसँग पनि बोलेनन् । त्यहीँभित्र अर्का आरोपीहरु थिए लक्ष्मी मर्हजन र हरिभक्त मर्हजन । आफैं प्रहरी अस्पतालको नर्स समेत रहेकी लक्ष्मीले आफ्ना श्रीमानले बैंक खाता प्रयोग गरिदिएपछि यो गम्भीर मुद्दा खेप्नु परेको थियो ।

यता आदेश कुर्दै गर्दा उनीहरु पनि सधैंजस्तो एउटै बेन्चमा थिए । १ बजेतिर बाहिर आफन्तले ल्याइदिएको खाजा खान निस्किए । आज उनीहरुले चना र च्युरा खाए ।

लक्ष्मीको १ वर्षे बच्चा छ । हरेक दिन उनका आफन्त १ बजे दुधे बालक आमालाई भेटन ल्याइदिन्थे । उनी दूध चुसाउँथिन् र पठाउँथिन् । जुन इजलासको सबैलाई भावुक बनाउने दृष्य थियो । बहसकै क्रममा पनि लक्ष्मी छुट्न सक्ने अनुमान धेरैको थियो । श्रीमानको भूमिका अलि बढी देखिएकाले भर थिएन । सबैको प्रतिक्षाकै क्षण थियो । जब–जब आदेश आउने समय नजिकिँदै थियो, अधिकांशको बेचैन बढेको देखिन्थ्यो । बाहिर प्रहरीले सबै क्षेत्र घेरिसकेको थियो ।

साँझ ६ बजेर १० मिनेटमा न्यायाधीश न्यौपाने इजलासमा आए । र, दुई लाइनको छोटो आदेश सुनाए । अब तपाईहरुलाई उच्च अदालत जाने बाटो खुलेको छ । लक्ष्मी मर्हजनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा र अन्यलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय भयो । यति भनेर न्यायाधीश भित्र पसे । सचिव टेकनारायण पाण्डे आँखाबाट बरबर आँशु झारेर रुन थाले । नेपाल सरकारका बाहालमा रहेका सचिव अब कारागार चलान हुँदै थिए । कसैसँग बोलेनन् ।

टोपबहादुर रायमाझी र छोरा सन्दिपको आँखामा पनि आँशु रोकिएन । बाबुछोरा एकै साथ जेल जानुपर्ने निर्णयले हतास देखिन्थे । बालकृष्ण मौन र उदास भए । खाणले कारागार जाने बेलामा पनि आफू निर्दोष रहेको भन्न छोडेनन् । सम्शेर मियाले पनि पत्रकारसँग भने, म पनि निर्दोष छु । टेकनाथ रिजाल पनि निराश देखिन्थे।

श्रीमती छुटेकोमा केही खुशी देखिएका हरिभक्त मर्हजन आफू भने कारागार जानुपर्ने भएपछि थामिन सकेनन् । श्रीमतीलाई बोलाएर आँशु पुछ्दै घरमा आराम गर्न पठाएपछि उनलाई प्रहरीले हत्कडी लगाएर कारागारतिर लग्यो । सबैलाई आदेशमा औंठाछाप लगाउन लगाएर केन्द्रीय कारागारतर्फ हिँडाइयो ।

सरकारी वकिलले इजलासमै भनेका छन् कि यो मुद्दाको अन्तिम टुंगो लागेको होइन । खाली अहिले समय सीमाका कारण अदालतमा बुझाउनुपर्ने भएकाले मात्रै आदेश आएको हो । अनुसन्धान र मुद्दा भने जारी नै छ । हेरौं बहसका क्रममा नाम लिइएकाहरु अरु माथि पनि अनुसन्धान हुन्छ कि हुँदैन ? मुद्दाको अन्तिम किनारा लाग्दा को दोषी, को निर्दोष हुन्छन्, हेर्न बाँकी नै छ । प्रहरीले आफ्नो इतिहासमा राज्य सञ्चालकविरुद्ध पहिलो पटक यति ठूलो अनुसन्धानमा पहिलो सफलता पाएको छ । कान्तिपुरबाट साभार

 

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस