२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

आचार्य बन्धु समाजले आफ्नै भवन “आचार्य (कोडिन्य) बन्धु सदन” बनाउने

काठमाडौं । कोडिन्य गोत्रिय आचार्यहरुको केन्द्रीय छाता संगठन आचार्य बन्धु समाज केन्द्रीय समितिले आचार्य (कोडिन्य) बन्धु सदन बनाउने निर्णय गरेको छ । नवौं अधिवेशनबाट चुनिएको नयाँ कार्यसमितिको पहिलो बैठकले आफ्नै भवन निर्माणका लागि जग्गाप्राप्ति देखि निर्माण सम्पन्नसम्मका लागि समितिहरु गठन गर्ने निर्णय गरेको समाजका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिनुभयो ।

समाजको केन्द्रीय कार्यालय मध्यबानेश्वरमा शनिबार बसेको बैठकले देशभर रहेका आचार्य बन्धुहरुको तस्बिर र सम्पर्क नम्बर सहितको आचार्य डाइरेक्टरी प्रकाशन गर्ने निर्णय गरेको छ । प्रकाशनका लागि समाजका महासचिव शुभनराज आचार्य, सचिव इन्द्र आचार्य, कोषाध्यक्ष पबित्रा बज्गाईँ आचार्य सहितको समिति गठन भएको छ । यसैगरी बृहत आचार्य वंशावली प्रकाशन गर्ने निर्णय समेत भएको छ ।

यसका लागि लब्ध प्रतिष्ठित, अनुसन्धाता, विद्वान तथा नव खोजकर्ताहरुको सक्रियतामा “घर–घरमा पुगेर, सबैको बुझेर” भन्ने अभियान नै चलाएर वंशावली बनाउँन बृहत समिति निर्माण गर्ने निर्णय समेत भएको छ । केही प्रतिष्ठित व्यक्तिहरुलाई प्रस्ताव गर्ने निर्णय भएको छ महासचिव शुभनराज आचार्यले जनबोलीसँग बताउनुभयो ।

समाजले बन्धु कल्याण कोष स्थापना गर्ने निर्णय समेत गरेको छ । बृहत राशिको कल्याण कोष स्थापना गर्ने, कोषबाट भवितव्य, रोगव्याधी, विपन्नता, आर्थिक संकटमा परेर सहयोग जरुरी रहेका आचार्यहरुलाई सहयोग गर्ने, उज्जवल भविष्यको सम्भावना भएकाहरुलाई साथ दिने तथा विभिन्न पुरस्कारहरु घोषणा गरेर प्रदान गर्ने उदेश्य सहित सञ्चालन निर्देशिका तयार गर्न अधिवक्ता समेत रहनुभएका महासचिव शुभनराजलाई जिम्मेवारी तोकेको छ । बैठकले विभिन्न विभाग गठन गरेर जिम्मेवारी समेत तोकेको छ । नागरिक अभिनन्दन, सम्मान तथा समाज कल्याण विभाग गठन गरेर पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यका सुपुत्र कृषि उद्यमी वीरभद्र आचार्यलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

विदेश विभाग प्रमुखमा डा. सुरेश आचार्य, प्रेस तथा सञ्चार विभाग प्रमुख इन्द्र आचार्य, कर्मचारी विभाग प्रमुख भूमिराज आचार्य, सूचना प्रविधि (आईटी) प्रमुखको जिम्मेवारी राज आचार्य (डिल्ली) ले पाउनुभएको छ । यही असार १५ गते बृहत बन्धु भेला तथा अपनत्व सम्वाद सहित दही च्यूरा ग्रहण गर्ने कार्यक्रम आयोजनाको निर्णय भएको सचिव इन्द्र आचार्यले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस