२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतमा फेरि सुरु भयो– ‘नेपाल जाउँ, नागरिकता लिउँ’ अभियान

काठमाडौं । केही दिन अघि मोरङ जिल्ला प्रशासन कार्यालय बिराटनगर अगाडि अनौठो भीड लाग्यो । भीडमा भएका सबै भन्दै थिए– नागरिकता लिन आएको । भीड धेरै भएपछि कार्यालयले लाइन लगायो । नागरिकता लिन चाहनेहरुको लाइन एक किलोमिटरभन्दा लामो भयो । अहिले पनि मोरङ जिल्ला प्रशासन कार्यालयमा थामिनसक्नु भीड छ ।

मोरङमा मात्र होइन, तराईका सबै जिल्ला प्रशासन कार्यालयहरुमा अहिले भ्याइनभ्याइ छ नागरिकता बाँड्न । पर्सा जिल्ला प्रशासन कार्यालयले त भीड थेग्न नसकेपछि दैनिक एकसय भन्दा धेरैलाई नागरिकता दिन सकिँदैन भनेर सूचना नै जारी गरेको छ । गृह मन्त्रालयका एक उच्च अधिकारीले भन्नुभयो– ‘कल्पनै गर्न नसकिने गरी हाम्रा जिल्ला प्रशासन कार्यालयहरुमा नागरिकता लिन चाहनेहरुको ओइरो लागेको छ ।’

उहाँका अनुसार देशभर पाँच लाखभन्दा केही धेरैले मात्र नागरिकता पाउने आंकलन गरिएको थियो, अहिलेको भीड हेर्दा दश लाखभन्दा धेरैले नागरिकता पाउन सक्छन् । नवलपरासी एउटा जिल्लामा मात्रै करिब ४० हजार नवनागरिकले नागरिकता पाउन लागेको स्थानीय पत्रकारहरुले बताएका छन् ।

राजनीतिक विष्लेशक भरत दाहाल भन्नुहुन्छ, ‘आगामी दिनमा नागरिकता लिनेको भीड अरु बढ्न सक्छ । किनभने भारतमा भरखर मात्र नेपाल जाउँ, नागरिकता लिउँ अभियान सुरु भएको छ ।’ नाकावन्दीका बेला भारतका तत्कालीन गृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड भारतीय रहेको र सबैले नागरिकता पाइनसकेको भन्दै गुनासो गर्नुभएको थियो । भारतले नाकावन्दी लगाउनुको मुख्य कारण नै नेपालको नागरिकता कानुन खुकुलो पार्नलाई थियो । गत जेठ १७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा नागरिकता कानुन उपहार स्वरुप भारतलाई दिएको बताइएको थियो ।

भारतीयले बेहिसाब नागरिकता पाउने गरी नागरिकता कानुनको व्यवस्था नगरेसम्म भारत भ्रमणमा नबोलाउने भनिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलबाट नागरिकता अध्यादेश प्रमाणिकरण गर्न लगाउनुभएको थियो । गत जेठ १७ मा प्रचण्ड भारत जानुभएको थियो, सोही दिन प्रमाणिकरण गरेर नागरिकता अध्यादेशलाई कानुनका रुपमा लागू गरिएको थियो ।

नेपालमा बुवा वा आमाको नागरिकता भए सन्तानले जन्मसिद्ध नागरिकता पाउने व्यवस्था गरेर प्रचण्ड भारत जानुभएको थियो । त्यसपछि तराईका जिल्ला प्रशासन कार्यालयहरुमा नागरिकता माग्नेहरुको घुइँचो लागेको हो ।

छैन घर, छैन डेरा, तैपनि चाहियो नागरिकता

तराईका जिल्लाहरुमा नागरिकता माग्नेहरुको घुईंचो लागेको छ तर उनीहरु कहाँका हुन् रु विभिन्न जिल्लाबाट प्राप्त समाचार अनुसार उनीहरु अधिकांशलाई नागरिकता दिन ठूलो समस्या आइलागेको छ । नागरिकता माग्ने अधिकांशको सो जिल्लामा न घर छ न डेरा छ, न त उनीहरुको कुनै पनि व्यवसाय नै छ । उनीहरुमध्ये धेरैजसो नेपाली भाषा बोल्न समेत जान्दैनन् । प्रायले नेपालमा पढेको र बसेको प्रमाण पेस गर्न पनि सकेका छैनन् ।

विगतमा खुला रुपमा भारतीयहरुलाई नागरिकता वितरण गरिएको हुनाले अहिले तिनैका सन्तान भारतबाट नागरिकता माग्न नेपाल आएको प्रष्ट छ । यद्यपी, नेपालमै बसोबास हुनेहरु तथा मर्का पर्नेहरुले पनि नागरिकता लिएका छन् । पीरमर्कामा परेका केहीलाई देखाएर लाखौं भारतीयलाई नागरिकता दिलाउने ग्राण्ड डिजाइन सफल भएको दृष्य अहिले तराईका जिल्ला प्रशासन कार्यालयहरुमा देख्न सकिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने दिन गत १७ जेठमा राष्ट्रपतिबाट नागरिकता अध्यादेश प्रमाणिकरण गराइएको थियो । लगत्तै राजपत्रमा प्रकाशित गरियो, त्यसपछि त्यो अध्यादेश कानुन बन्यो र भटाभट नागरिकता वितरण सुरु गरिएको हो । भारतीयलाई नागरिकता बाँड्ने अध्यादेश प्रमाणिकरण गरिएपछि सर्वोच्चमा रिट परेको थियो, सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएर केही दिन नागरिकता वितरण रोक्यो । तर, लथालिंग भएको नेपालको अदालतले सो आदेशलाई निरन्तरता दिन सकेन । भारतीय ग्राण्ड डिजाइन र प्रचण्डसहितको सत्ता गठवन्धनको दवाबमा सर्वोच्चले ७ असारमा अध्यादेश संवैधानिक भएको ठहर गर्दै नागरिकता बाँड्ने बाटो खोलेको हो ।

अहिलेको नागरिकता वितरणको अर्को अनौठो पक्ष के हो भने बिहे गरेर भारत गएकी नेपाली महिलाका सन्तानले पनि नागरिकता पाइरहेका छन् । यही कारण नागरिकता लिन आउनेहरुको यहाँ घर, डेरा, पढाई, व्यवसाय केही पनि नभएको हो । गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नयाँ ऐन आएपछि मुलुकभर करिब १२ हजारले नेपाली नागरिकता हात पारेका छन् । नागरिकता लिनेहरु अधिकांश तराईकै जिल्लाका छन् । पहाडी छिल्लामा छिटफुटले मात्र नागरिकता लिँदै छन् । जस्तो कि तराईको मोरङमा १८८४ जनाले नागरिकता लिँदा मोरङसँगै सीमा जोडिएको पहाडी जिल्ला धनकुटामा एक जनाले मात्र नागरिकता लिएका छन् ।

नेपालमा भटाभट नागरिकता बाँडिँदैछ भनेर सीमा पारिका भारतीय सहर र गाउँहरुमा व्यापक प्रचारप्रसार भइरहेको बताइन्छ । त्यसैले आगामी दिनमा भारतबाट नागरिकता लिन अरु धेरै मानिस आउने र लाखौंले नागरिकता बोकेर भारततिरै जाने देखिन्छ । यसरी नागरिकता बोकेर फर्कनेहरु भविष्यमा चुनावमा भोट हाल्न र आन्दोलन गर्न नेपाल फर्कने चिन्ता बढेको छ । सनराइज खबरबाट

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस