२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

बलात्कार मुद्दामा अदालतबाट जन्मकैद सजाय, मृत्युदण्डको माग

RG Kar doctor murder case

सियालदह अदालतले सञ्जय रोयलाई गत वर्ष अगस्त ९ मा महिला डाक्टरको बलात्कार र हत्यामा दोषी ठहर गरी जन्मकैदको सजाय सुनायो। अदालतले दोषीलाई ५० हजार भारु जरिवाना पनि तोक्यो। यो घटना एकदमै जघन्य भएकाले देशभर आक्रोश फैलिएको थियो र लामो समयसम्म विरोध प्रदर्शन भएका थिए।

अदालतले मृतकका परिवारलाई १० लाख भारु क्षतिपूर्तिसँगै थप ७ लाख भारु दिनुपर्ने फैसला गरेको छ। सञ्जय रोयले आफूलाई फसाइएको दाबी गर्दै निर्दोष रहेको बताए। उनको वकिलले दोषीलाई सुधारको सम्भावना दिनुपर्ने तर्क गरेका थिए, तर अदालतले यसलाई अस्वीकार गर्दै जन्मकैदको सजाय सुनायो।

पीडित डाक्टरका अभिभावकले दोषीलाई मृत्युदण्डको माग गरेका थिए। फैसला सुनाउनुअघि सञ्जयलाई अदालतमा पेश गरिएको थियो जहाँ उनले आफ्नो बयान दिए। सरकारी वकिलले समाजमा जनताको विश्वास कायम राख्न कडा सजायको माग गरेका थिए।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले फैसलासँग असन्तुष्टि व्यक्त गरेकी छन्। उनले अदालतको फैसला सुनाउँदा आफूहरूले मृत्युदण्डको माग गरेको बताइन्। यस मुद्दालाई कोलकाता पुलिसबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) लाई हस्तान्तरण गरिएको थियो, जसले घटनालाई निकै गम्भीरताका साथ अनुसन्धान गरेको थियो।

सञ्जय रोयको गिरफ्तारी २०२४ अगस्ट १० मा भएको थियो, जब अस्पतालको सेमिनार कोठामा मृतक ३१ वर्षीय डाक्टरको शव फेला परेको थियो। न्यायाधीश अनिर्बान दासले उनलाई भारतीय न्यायिक संहिता (बीएनएस) को धारा ६४, ६६ र १०३(१) अन्तर्गत दोषी ठहर गरेका थिए, जसमा कुकर्म, बलात्कार र हत्याको मुद्दा समेटिएको छ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस