चर्चित युट्युबर र टिकटक स्टार मिस्टर बिस्ट, जसको वास्तविक नाम जेमी डोनल्डसन हो, हाल टिकटक किन्नका लागि लगानीकर्ताहरूको समूहसँग प्रयासरत छन्। २६ वर्षीय डोनल्डसन आफ्नो उदार कार्यहरू, प्रभावशाली च्यालेन्ज भिडियोहरू, र विश्वभरिका ठूला सामाजिक परियोजनाका लागि परिचित छन्।
अमेरिकामा जनवरी २० मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेपछि टिकटकलाई प्रतिबन्धबाट ७५ दिनको छूट दिएका छन्। यो समयसीमाभित्र टिकटकको माउ कम्पनी बाइटडान्सले गैर–चिनियाँ मालिक खोज्न नसके, एपलाई स्थायी रूपमा प्रतिबन्धित गरिनेछ।
जनवरी १३ मा उनले माइक्रो ब्लगिङ प्लेटफर्म एक्समा पोस्ट गर्दै टिकटक खरिद गर्ने आफ्नो चाहना व्यक्त गरेका थिए। सुरुमा यो मजाक जस्तो लागे पनि उनका वकिलका अनुसार उनले यसबारे गम्भीर चासो देखाएका छन्।
मिस्टर बिस्टको मुख्य युट्युब च्यानलमा २०० मिलियनभन्दा बढी सब्सक्राइबर छन्, जसले उनलाई डिजिटल संसारको सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक बनाएको छ। अर्बपतिहरूसँग छलफल गरेको र टिकटक खरिदका लागि अफर प्राप्त भएको बताउने उनको यो कदमले टिकटकको भविष्यमा ठूला परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

