काठमाडौं । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को कराँची–लाहोर उडान पीके ३०६ एउटा पाङ्ग्राविना नै लाहोर विमानस्थलमा सुरक्षित अवतरण गर्न सफल भएको छ।
विमान कराँचीबाट लाहोरका लागि उडान भर्दा सबै पाङ्ग्रा रहेको बताइए पनि अवतरणपछि निरीक्षण गर्दा पछाडिको एउटा पाङ्ग्रा हराएको पुष्टि भएको छ। विमानस्थलका अधिकारीहरूका अनुसार टायरको एउटा सानो हिस्सा कराँची विमानस्थलको धावनमार्गमा भेटिएको छ, जसले उडानकै क्रममा पाङ्ग्रा छुटेको हुनसक्ने आशंका गरिएको छ।
विमानका चालक दललाई अवतरण गर्नेबेला पाङ्ग्रा हराएको जानकारी थिएन। लाहोरमा विमान सुरक्षित रूपमा अवतरण गरेपछि मात्र टायर हराएको पुष्टि भएको थियो। नागरिक उड्डयन प्राधिकरण (सिएए) र पीआईएको उडान सुरक्षा विभागले घटनाको छानबिन सुरु गरिसकेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा विमान रनवेमा कुनै वस्तुसँग ठोक्किएर पाङ्ग्रा छुटेको हुनसक्ने अनुमान गरिएको छ।
एयरबस ए३२० मोडेलका विमानमा सुरक्षा प्रणाली मजबुत हुने भएकाले यस्तो घटनामा पनि सुरक्षित अवतरण सम्भव हुने उड्डयन विज्ञहरूले बताएका छन्। तर, घटनाले उडान सुरक्षासम्बन्धी प्रक्रियामा सुधार आवश्यक रहेको देखाएको छ।

