काठमाडौं। सरकारको निर्णयपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कुलमान घिसिङलाई हटाउने निर्णयलाई गलत र आपत्तिजनक भनेका छन्।
उनले लेखेका छन्— “जनताले चरम लोडसेडिङको सामना गरिरहेका बेला मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनको विज्ञता र हाम्रो संयुक्त प्रयासबाट उज्यालो नेपाल सम्भव भएको थियो।”
उनका अनुसार सरकार लामो समयदेखि घिसिङलाई हटाउने प्रयास गरिरहेको थियो। “जनताको पैसा उठाउनुपर्छ भनेकै कारण बारम्बार स्पष्टीकरण सोधेर अन्याय गरियो, अन्ततः आज बर्खास्त गरियो भन्ने खबर आएको छ। आशा गरौं, यो खबर असत्य होस्। सत्य भए सरकारको यो निर्णय आपत्तिजनक छ,” प्रचण्डले भनेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार

