काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले ह्याक गरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नारा लेखिएको छ ।
सोमबार दिउँसो १२ बजेतिर ग्राहक सुविधाका लागि राखिएको डिजिटल सूचना बोर्ड ह्याक गरेर अपशब्दसहितको सन्देश अपलोड गरिएको थियो । यस घटनापछि आक्रोशित एमाले कार्यकर्ताहरूले प्राधिकरण कार्यालय प्रमुखलाई कुटपिट गर्नुका साथै कार्यकक्ष तोडफोड गरेका छन् ।
मंगलबार बिहान ३५-४० जनाको समूहले कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरी तोडफोड र आक्रमण गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले घटनाको छानबिन गरी साइबर अपराध अन्तर्गत कारबाहीको माग गरेको छ । साथै, कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार

