२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

कुलमान हटाइएको विषयमा अनावश्यक हल्लाखल्ला किन? : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा अनावश्यक हल्लाखल्ला भएको बताएका छन् ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेपछि सञ्जालदेखि सडकसम्म विरोध भइरहेको छ । त्यसतर्फ इंगित गर्दै प्रधानमन्त्री ओलीले केही मानिसहरू तिललाई पहाड बनाउने शैलीमा लागेको टिप्पणी गरे ।

बालुवाटारमा कांग्रेस नेतृ सुजाता कोइरालाको आत्मकथा ‘म र मेरो सानोबुबा’ लोकार्पण समारोहमा बोल्दै ओलीले भने, ‘तिलको पहाड बनाएका छन् । केही मानिसहरू सानो विषय पाएका जस्तो गरेर उफ्रिरहेका छन्, कुदिरहेका छन् ।’

उनले हिजैदेखि वक्तव्यबाजी भइरहेको भन्दै त्यसलाई ‘त्यान्द्रो’ को संज्ञा दिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गर्दै उनले ‘पहिलो ४ वर्ष उज्यालो आएको थिएन र? प्रचण्डले नियुक्त गर्नेबित्तिकै बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आए?’ भन्दै व्यंग्य गरे ।

ओलीले कुनै पनि विषयलाई चमत्कारको रूपमा व्याख्या नगर्न आग्रह गर्दै सरकारको निर्णयप्रति गरिएको विरोधलाई खण्डन गरेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस