२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

ललितपुरमा भूमिमाफियाले खाएकाे खोला, ८ जना पक्राउ

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलमा रहेको कर्मनाशा खोला किनारको जग्गा आफ्नो नाममा ल्याएर बेचबिखन गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको छ। कागजात किर्ते गरेर ५ आना जग्गालाई १ रोपनी १५ आना बढी बनाइ बिक्री गरिएको जानकारी प्रहरीको छानबिनमा आएको छ।

प्रहरीका अनुसार, कर्मनाशा खोला धार परिवर्तन भएपछि भू–माफियाले नापी र मालपोत कार्यालयमा ‘सेटिङ’ मिलाएर उक्त बगर आफ्नो नाममा ल्याएका थिए। यो जग्गा सुरुमा ठेचो घर भएकी सुजिता खड्काको नाममा आएको थियो, जसलाई पछि बेचबिखन गरिएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले रातोपाटीसँग कुरा गर्दै यसबारे जानकारी दिएका छन्।

जग्गा किर्ते गरेको आरोपमा पक्राउ पर्ने व्यक्तिहरूमा सुजिता खड्का, राधेश्याम श्रेष्ठ, सानुकृष्ण महर्जन, सानुबाबु डंगोल, प्रवेश डंगोल, राजु महर्जन र सनम महर्जन रहेका छन्। यी व्यक्तिहरूले कर्मनाशाको बगरलाई आफ्नो नाममा लिने प्रक्रिया पूरा गरेर फर्जी प्रमाणपत्र बनाएका थिए।

अधिकारिक जानकारी अनुसार, जितलाल महर्जनको नाममा साविक इमाडोल गाविसमा १८४ कित्ता नम्बरको १० आना जग्गा थियो। यो क्षेत्रफल पछि भू–माफियाले नापी कार्यालय र मालपोतसँग मिलेर बढाएर ४ रोपनी ४ आना बनाएका थिए। अनुसन्धानका क्रममा यो ५ आना जग्गा सुजिता खड्काको नाममा गएको पाइएको छ र पछि यसलाई १ रोपनी ५ आना बढाएर १ रोपनी १२ आना २ पैसा कायम गरिएको जानकारी प्राप्त भएको छ।

प्रहरी अनुसन्धानका अनुसार, पहिलो १ रोपनी ५ आना जग्गालाई जब फेरी कित्ताकाट गर्ने प्रक्रिया सुरु गरिएको थियो, तब यसलाई १० आना बनाइ फर्जी कागजात तयार पारिएको देखिएको छ। अहिले यस मुद्दामा कागजात किर्ते र घुसको सम्बन्धमा अनुसन्धान अघि बढिरहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस