काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध माइतीघरमा प्रदर्शन गरिरहेका एक अमेरिकी नागरिकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने ५८ वर्षीय जुलियन किर्पाल हुन्, जो सुरुमा कुलमान घिसिङको समर्थनमा पम्प्लेटसहित देखिए पनि केही समयपछि राजावादीको पोस्टर बोकेर प्रहरीसँग विवादमा उत्रिएका थिए।
सिंहदरबार प्रहरी वृत्तका डीएसपी गङ्गाप्रसाद पौडेल नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनी टुटेफुटेको नेपाली, हिन्दी र राम्रो अंग्रेजी बोल्ने बताइएको छ। सुरुवाती सोधपुछमा उनले आफू कुनै देशको नागरिक नभएको दाबी गरे पनि पछि अमेरिकी राहदानी बोकेका पर्यटक भएको खुलाएका छन्।
नेपालमा ओभरस्टे भएको देखिएमा किर्पाल अध्यागमन कानुनअनुसार डिपोर्ट हुन सक्छन्। नेपालका कानुनअनुसार विदेशी नागरिकलाई राजनीतिक गतिविधिमा संलग्न हुन रोक लगाइएको छ। हाल उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।

