काठमाडौं। गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थकहरूले आज काठमाडौंमा प्रदर्शन गर्दै छन्। समाजवादी मोर्चाले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्नेछ भने पूर्वराजाका समर्थकहरू तीनकुनेमा प्रदर्शन गर्नेछन्।
दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ मिलेर पूर्वराजाका समर्थकहरूको प्रदर्शन आयोजना गरेका हुन्। समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, र विप्लव समूह आबद्ध छन्।
सम्भावित तनाव रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्ग क्षेत्रमा ३५ सय सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। सुरक्षा व्यवस्थापनका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी, एसएसपीहरू र सशस्त्र प्रहरी बलका अधिकारीहरूको निगरानी रहनेछ।
पूर्वराजाका समर्थकलाई चक्रपथभन्दा बाहिर मात्र जुलुस निकाल्न दिने र समाजवादी मोर्चाका सहभागीहरूलाई निश्चित रुटमा डाइभर्सन गर्ने निर्णय गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई आग्रह गरेको छ।

