काठमाडौं । भारतको पञ्जाबस्थित जालन्धरस्थित ‘द चर्च अफ ग्लोरी एण्ड विजडम’ का संस्थापक पास्टर बजिंदर सिंहलाई २०१८ मा दायर बलात्कार मुद्दामा मोहाली अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।
यो मुद्दामा मार्च २८ मा अदालतले बजिंदर सिंहलाई दोषी ठहराएपछि प्रहरी नियन्त्रणमा लिएको थियो। उक्त मुद्दा जिरकपुरकी एक महिलाले दर्ता गराएकी थिइन्, जसमा बजिंदर सिंहसहित छ जना विरुद्ध यौन उत्पीडनको आरोप लागेको थियो। तर, अदालतले बाँकी पाँच अभियुक्तलाई सफाइ दिएको छ।
अदालतको फैसलापछि पीडित महिलाले आफू न्यायको खोजीमा सात वर्षदेखि प्रहरी चौकी र अदालत धाइरहेको बताउँदै यो निर्णयले ठूलो सन्तोष मिलेको प्रतिक्रिया दिइन्। साथै, उनले बजिंदर सिंहले धर्मको नाममा मानिसहरूलाई मूर्ख बनाएको आरोप लगाउँदै आफ्नो सुरक्षाको माग समेत गरेकी छिन्।
प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार

