२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

राप्रपाका मिश्र र जबरालाई हिरासतमा मासु-रोटी र मिनरल वाटरको विशेष व्यवस्था

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको उनीहरूको हिरासत जीवन सामान्य थुनुवाभन्दा फरक देखिएको छ, विशेषगरी खानपानका मामिलामा।

हिरासतमा रहेका अन्य थुनुवाले नियमित खाना खाइरहेका बेला मिश्र र जबराले प्रहरी क्यान्टिनबाट आफ्नै रोजाइका परिकार अर्डर गर्छन्। दुवै जना मांसाहारी भएकाले मासु र रोटी उनीहरूको प्राथमिक रोजाइ बनेको छ। प्रहरी स्रोतका अनुसार जबराले बेलाबेला स्याउ र काजु खान्छन्, जुन उनलाई विशेष रूपमा उपलब्ध गराइँदै आएको छ।

स्वास्थ्यको कारण देखाउँदै उनीहरूले हिरासतमा दिइने साधारण पानी अस्वीकृत गरेका छन्। त्यसैले, प्रहरी प्रशासनले उनीहरूलाई नियमित रूपमा मिनरल वाटर उपलब्ध गराइरहेको छ। हिरासतमा आरामदायी व्यवस्था नभएको भन्दै मिश्रले गुनासो गरेपछि प्रहरीले उनलाई जबरासँगै एउटै कोठामा सारेको छ।

प्रहरीले उनीहरूलाई पाँच दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइसकेको छ। उनीहरूसँगै ११ जनालाई राज्यविरुद्धको कसुरमा र ३० जनालाई आपराधिक उपद्रवसहितको कसुरमा अनुसन्धान भइरहेको छ। हिरासतको वातावरण कडा भए पनि मिश्र र जबराले खानपानमा भने कुनै सम्झौता गरेका छैनन्।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस