काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको औपचारिक भ्रमणबाट नेपाल र थाइल्यान्डबीचको सम्बन्ध नयाँ स्तरमा पुगेको बताएका छन्। बैङ्ककमा थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँग भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले यो भ्रमणले संस्कृति, पर्यटन, शिक्षा र ऊर्जा क्षेत्रमा सहकार्य बढ्ने विश्वास व्यक्त गरे।
उनले नेपाल र थाइल्यान्डबीच ६५ वर्षदेखिको कूटनीतिक सम्बन्ध र जनस्तरको सम्पर्कलाई थप विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिए। पर्यटन क्षेत्रमा थाइल्यान्डको लगानी, होटल व्यवसाय र हवाई सेवालाई आगामी दिनमा प्राथमिकता दिइने उनको भनाइ छ।
‘नेपाल र थाइल्यान्डबीच कृषि, व्यापार, पर्यटन र संस्कृतिको गहिरो सम्बन्ध छ। म थाइल्यान्डका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्छु,’ ओलीले भने, ‘हाम्रो व्यापार र पर्यटन सम्बन्ध राम्रो छ। अब जलवायु परिवर्तनजस्ता अन्तरराष्ट्रिय मुद्दामा पनि सँगै काम गर्नेछौँ।’
उनले थाइल्यान्डका प्रधानमन्त्री शिनावात्लाई नेपाल भ्रमणको निम्तो दिएको र छिट्टै भ्रमण हुने विश्वास व्यक्त गरे। मङ्गलबार बैङ्कक पुगेका ओलीले थाइल्यान्डको पहिलो औपचारिक भ्रमण र बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिएका छन्।

