काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कोठाबाट मात्र निर्देशन दिने प्रवृत्ति रोक्न मेयर बालेन शाहलाई चेतावनी दिएकी छन्। बिहीबार उपप्रमुख डंगोल, वडाध्यक्षहरू, र कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराएपछि उनले मेयर शाहप्रति कडा असन्तुष्टि व्यक्त गरिन्।
‘यो तमासा हामीले हेर्नुपर्ने? यदि मेयरको आदेश हो भने उहाँ आफैँ अगाडि आउनुपर्छ, होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,’ डंगोलले भनिन्। नगर प्रहरीलाई मौखिक आदेशमा ताला लगाउन लगाइयो
डंगोलले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई ‘तपाईंले लिखित आदेश पाएर ताला लगाउनु भएको हो कि मौखिक?’ भनेर सोध्दा पाण्डेले ‘मौखिक आदेश’ मा गरिएको प्रतिक्रिया दिए। यो सुनेपछि कर्मचारीहरू थप आक्रोशित बने।
‘प्रशासकीय अधिकृत हाजिर हुँदा झडप हुनु राम्रो होइन। कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु राम्रो होइन,’ डंगोलले भनिन्।
तीन महिनादेखि तलब नपाएका कर्मचारी आक्रोशित
महानगरका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले तीन महिनादेखि तलब पाएका छैनन्। डंगोलले भनिन्, ‘हजारौँ कर्मचारी, लाखौँ काठमाडौंबासीले दुःख पाएका छन्। क्यान्सर पीडितलाई समेत सहयोग गर्न सकेका छैनौँ।’
उनी गुरागाईं दोषी भए कानुनी कारबाही हुनुपर्ने बताउँछिन्, तर ‘अनिश्चिततामा राखेर महानगरको सेवा अवरुद्ध गर्नु गलत हो’ भन्दै बालेनलाई एकपटक पुनः सहकार्यको अपिल गरिन्।

