२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

आज जब महानगर नेतृत्व खोज्दै थियो तब मेयर बालेन भने रेस्टुरेन्टमा रमाउँदै थिए [तस्बिर भाइरल]

काठमाडौं । बिहीबार काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा तनावपूर्ण स्थिति उत्पन्न भयो। पुस ७ गतेदेखि बिदामा रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय जान खोज्दा महानगर प्रहरीले उनलाई रोक्ने प्रयास गरे। तर, कर्मचारी र जनप्रतिनिधिहरूले बल प्रयोग गरेर गुरागाईंलाई कार्यालय प्रवेश गराए।

अवस्था केहीबेर तनावपूर्ण बनेपछि नगर प्रहरीको ठूलो संख्या कार्यकक्ष अगाडि खटिनुपर्‍यो। नगर प्रहरीको अवरोधकाबीच कर्मचारीहरूले कार्यकक्षमा लगाइएको ताला फुटाइरहेका थिए। सिसा तोडिएपछि उपमेयर सुनिता डंगोल स्वयं खटिइन् र सबैलाई शान्त हुन आग्रह गरिन्।

उपमेयर डंगोलले बैठकमा मेयर बालेन शाहको उपस्थितिको खोजी गरिन्, तर मेयर शाह कार्यालयमा उपस्थित थिएनन्। सचिवालय स्रोतका अनुसार मेयर शाह बुधबार साँझै काठमाडौं छाडेर काभ्रेपलाञ्चोक पुगेका थिए।

मेयर शाह काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ स्थित एक रेस्टुरेन्टमा करिब एक घण्टा बिताएका थिए। रेस्टुरेन्ट सञ्चालकका अनुसार उनले खाना र पानी खाएर त्यहाँ एक घण्टा बिताए र त्यसपछि धुलिखेलतर्फ गाडी लिएर गएका थिए।

बिहीबारको घटनाक्रमसँग सम्बन्धित मेयर शाहले कुनै प्रतिक्रिया दिएका छैनन्, तर सचिवालयले भने यस घटनाको आलोचना गर्दै सरकारको कार्यलाई मोड्ने प्रयास भएको आरोप लगाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस