२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

चितुवाको जबडाबाट तानेर नाति बचाउने साहसिक हजुरआमालाई सलाम

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५, बालापुरकी ५० वर्षीया गोवरी थरुनीले चितुवाको मुखबाट आफ्ना सात वर्षे नातिलाई तानेर ज्यान जोगाएकी छन्।

बुधबार दिउँसो करिब १ बजे मासको बारी (थारू भाषामा उरुद) मा सिँचाइ गर्दै गर्दा गोवरीकी नाति सिर्जन चौधरी आफ्नो साथी अर्पण थारूसँग खाना लिएर खेततर्फ आएका थिए। हजुरआमाभन्दा करिब ३० मिटर टाढा राखिएको रसीको खटियामा सिर्जन खेलिरहेका बेला चितुवाले उनलाई तानेर नजिकैको मकैबारीतिर लगेको थियो।

सिर्जनको ‘बुदी’ भनेर गरेको चिच्याहट सामान्य जस्तो नलागेपछि गोवरी दौडिँदै पुगेकी थिइन्। त्यहाँ पुग्दा नाति देखिन भनेपछि मकैबारीतिर लागेकी उनी चितुवाले सिर्जनको घाँटी समातेको अवस्थामा पुगेकी थिइन्।

गोवरीले ज्यानको प्रवाह नगरी नातिको खुट्टातिर समातेर तान्न थालिन्। करिब एक मिनेटसम्म उनी र चितुवाबीच तानातान भयो। अन्ततः गोवरीले छोडिनन्, चितुवा डराएर भाग्यो।

“दिमागै शून्य भयो। सोचें या त नाति बच्छ, या त म मर्छु,” गोवरीले भनिन्।

घटनामा घाइते भएका सिर्जनलाई नेपालगन्जस्थित सञ्जीवनी मेडिकल कलेजमा शल्यक्रिया गरी उपचार गरिँदै छ।

उक्त साहसिक कार्यको कदर गर्दै गुलरिया नगरपालिका–५ वडाले गोवरी थरुनीलाई पाँच हजार रुपियाँसहित सम्मान गरेको छ। वडाध्यक्ष मुमबहादुर मल्लले मृत्युको मुखबाट नातिको ज्यान जोगाएकी गोवरीलाई सबैका लागि प्रेरणादायी पात्रको रूपमा वर्णन गरे।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस