काठमाडौं । अछामको साँफेबगर नगरपालिका–१ बैजनाथका जोतीसिंह विश्वकर्मा ६० वर्षका भए। उनले २०२१ असार २४ गते जन्म लिएका थिए भने, उनका नागरिकतामा २०४१ असार ९ गतेको मिति राखिएको छ। उनका अनुसार, नागरिकतामा आएका त्रुटिका कारण उनी २० वर्ष कान्छो देखिन्छ। उनका भाइ अर्जुनको जन्म मिति २०२६ साल छ।
जोतीसिंह २०६३ असोज २ गते जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता बनाएका थिए। सिफारिसपत्रमा उनका बुवाको मृत्यु मिति राखेर नागरिकता प्राप्त गरिएको थियो। भारतमा काम गर्दै फर्केका जोतिसिंहले नागरिकता हेर्दा ४० वर्षको उमेर देखेपछि अचम्मित भए।
उनले पुस ११ गते जिल्ला प्रशासन कार्यालयमा नागरिकता सच्याउनको लागि प्रयास गरे, तर कार्यालयले यसमा कुनै सुधार गर्न नसकेको जानकारी दिएको थियो। यस त्रुटिका कारण उनी भत्ता पाइरहेका थिएनन्। नागरिकताका कारण उनले सरकारबाट पाउनुपर्ने वृद्धभत्तासहित अन्य कुराबाट वन्चित हुनुपरेको छ।
स्थानीय बैजनाथ टोल विकास समितिका पूर्वअध्यक्ष विक्रम खड्का अनुसार, यस्तो समस्याको सामना गाउँका अन्य व्यक्तिहरूले पनि गरिरहेका छन्। उनले सरकार र स्थानीय जनप्रतिनिधिहरूको ध्यानाकर्षण गर्नुपर्ने बताएका छन्।

