काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनर्स्थापनाका पक्षमा हुने जुनसुकै आन्दोलनमा समर्थन जनाउने निर्णय गरेको छ र यसअन्तर्गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा सक्रिय सहभागिता जनायो।
राप्रपाले अघिल्लो दिन विज्ञप्ति निकालेर उक्त आन्दोलनमा सहभागी हुन अपिल गरेको थियो। यद्यपि, आन्दोलनका जनकमाण्डर र मेडिकल माफिया दुर्गा प्रसाईंका कारण उक्त प्रदर्शन हिंसात्मकमा परिणत भएपछि राप्रपा आफूलाई जिम्मेवारीबाट पन्छाउन खोजिरहेको छ।
राप्रपाका नेताहरू, राजेन्द्र लिङदेन र ज्ञानबहादुर शाहीले आन्दोलनमा आफूहरूको संलग्नता नरहेको र सरकारको दमनकै कारण हिँसा भड्किएको भन्दै चोखिने प्रयास गरिरहेका छन्।
तर, प्रदर्शनमा सक्रिय भूमिका खेलेका राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र महासचिव धवल शमशेर राणा विरुद्ध सरकारले मुद्दा चलाउने तयारी गरेको छ। राप्रपाले भने उनीहरूको गिरफ्तारीको विरोध गरेको छ।
राप्रपाले आगामी मंगलबार (२६ गते) काठमाडौँमा गर्न लागेको विरोध प्रदर्शन पनि अराजक हुने त होइन भन्ने चिन्ता उठेको छ। यसमा राजावादी समूहका कार्यकर्ताको पनि सहभागिता रहने हो कि भन्ने प्रश्न उठ्न थालेको छ।

