काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी दिएका छन्। सोमबार सिंहदरबारमा भएको बैठकमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको प्रतिनिधिमण्डलसँग भेटघाट गर्दा उनले यो प्रक्रिया सुरु भएको उल्लेख गरे।
प्रधानमन्त्रीका सचिवालयका अनुसार, ओलीले भने, “धरानबासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो। संघीय सरकारले बजेट प्रबन्ध र अन्य आवश्यक सहजीकरण गर्नेछ।”
खानेपानी आयोजना सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन संघीय सरकारले पहिले नै तयार गरिसकेको छ।
त्यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि आधुनिक प्रविधि प्रयोग गरेर नयाँ ल्याण्डफिलसाइट बनाउनुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार

