२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

सुर्खेतमा १६ वर्षीया किशोरीको हत्या प्रकरण, चार युवक पक्राउ

प्रकाश काफ्ले/काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरीको मृत्यु भएको घटनामा सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–१ निवासी इनिशा विकको मृत्यु भएपछि अनुसन्धानका क्रममा १८ वर्षीय अनमोल गौलीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार किशोरी गत शनिबार बिहान ट्युशन पढ्न भन्दै घरबाट निस्किएकी थिइन्। पछि उनी वीरेन्द्रनगर–४ स्थित जनजागृति सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा भेटिएकी थिइन्। घटनाको जानकारी पाएपछि प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल पुर्‍याएको थियो। तर अस्पतालले केही समयपछि उनलाई मृत घोषित गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार मृतक र पक्राउ परेका युवकहरू स्थानीय निजी विद्यालयमा कक्षा ११ मा सँगै अध्ययनरत थिए। आफन्तजनले ती युवकहरूले फकाएर जंगलतर्फ लगेर सामूहिक बलात्कारपछि हत्या गरेको आरोप लगाएका छन्।

प्रहरीले पक्राउ परेकाविरुद्ध बलात्कार तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस